शुक्रबार सम्पन्न नगर सभाको १८औँ अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार चालु खर्च २६.३२ प्रतिशत पुगेको छ भने पुँजीगत खर्च ४.८ प्रतिशत मात्र रहेको छ।
What you should know
रामेछाप — रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को झन्डै ६ महिनामा कुल बजेटको १९.६३ प्रतिशत मात्र खर्च गरेको छ।
शुक्रबार सम्पन्न नगर सभाको १८औँ अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार चालु खर्च २६.३२ प्रतिशत पुगेको छ भने पुँजीगत खर्च ४.८ प्रतिशत मात्र रहेको छ।
नगरपालिकाले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेको थियो । सीमित स्रोत–साधन, प्रक्रियागत जटिलता तथा ठेक्का र उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनामा ढिलाइ हुँदा पुँजीगत खर्च न्यून रहेको नगर प्रमुख श्रेष्ठले बताए।
हिउँदे अधिवेशनमा नगर प्रमुखले चालु आवका उपलब्धि सार्वजनिक गर्दै सुशासन, सेवा प्रवाह र पूर्वाधार विकासमा क्रमिक सुधार भइरहेको बताए । सबै वडा कार्यालयबाट अनलाइन राजश्व सङ्कलनको सुरुवात गरिएको, फाइबर इन्टरनेट जडान, सार्वजनिक सुनुवाइ, टोकन प्रणाली र सूचना प्रवाहलाई प्रभावकारी बनाइएको बताए ।
आन्तरिक राजश्व सङ्कलनतर्फ चालु आवमा ४ करोड २३ लाख रुपैयाँ लक्ष्य लिइएकोमा हालसम्म १ करोड ९२ लाख ७५ हजार रुपैयाँ अर्थात् ४५ प्रतिशत आम्दानी भएको उनले बताए । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ करोड ५० लाख ९१ हजार रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गर्ने अनुमानसहित कार्य योजना तयार भइरहेको पनि उनको भनाइ छ ।
योजना तथा पूर्वाधारतर्फ ३९८ योजनामध्ये १६० योजना उपभोक्ता समिति मार्फत सम्झौता भइसकेको, तीमध्ये ४५ वटाको भुक्तानी सम्पन्न भइसकेको र १० वटा योजना भुक्तानीको चरणमा रहेको पनि नगर प्रमुख श्रेष्ठले बताए । ठेक्का प्रक्रियाका आयोजनाहरू पनि क्रमशः कार्यान्वयनको चरणमा पुगेको उनले बताए।
बाँकी अवधिमा पुँजीगत खर्चलाई तीव्रता दिँदै पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले नगरको दीर्घकालीन सोच ‘शिक्षित, स्वस्थ र व्यावसायिक शहरः उत्थानशील र समृद्ध मन्थली नगर’ हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
