चितवनमा दुई वर्षपछि देखियो लेकबेंसी गर्ने तिलहरी चरा

चितवनमा १५ वर्षको अन्तरालपछि दुई वर्षअघि चार वटा र त्यसपछि एक वर्षको अन्तरालमा यसपाली दुई वटा तिलहरी चरा भेटिएका छन्।

पुस २५, २०८२

रमेशकुमार पौडेल

A stilt-billed bird was spotted in Chitwan after two years

What you should know

चितवन — तिलहरी चरा बागमती प्रदेशको हिमाली भेग रसुवादेखि तराइ क्षेत्र चितवनसम्म भेटिन्छ। जाडोयाममा चितवन झर्ने यो चरा अचेल निकै कम देखा पर्छ।

यो समय हिउँदमा बसाइँ सरेर आउने पानीमा आश्रित चरा गणना भइरहेको छ। गणनाका लागि चितवनको पूर्वी भेगमा खटेको एउटा टोलीले बिहीबार यो चरा फेला पार्‍यो। गणक टोलीले दुई वर्षअघि पनि यही बेला तिलहरी चरा देखेको थियो। राप्ती नदीको लोथर क्षेत्र र त्यहाँदेखि पश्चिम जिन्दगानीघाटसम्म चरा गणना गर्न खटेका सौराहाको बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले लोथरखोलाको पुल आडमा दुई वटा तिलहरी चरा भेटाएको बताए ।

दुई वर्षअघि पनि लोथर पुलनजिक चार वटा तिलहरी चरा देखा परेका थिए । गत वर्ष यो चरा चितवनमा कतै पनि भेटिएन। यो पटक पनि लोथरमै देखिएको हो।

तिलहरी चराले बगेको सफा पानी भएको खोलाखोल्साका ढुंगा र ग्राभेलको तल बस्ने साना किरा र त्यसका लार्भा खाने गिरी बताउँछन्। ‘यो चरा भेटिनु भनेको खोलाको पानी प्रदुषित छैन । चरालाई खाने आहारा छन् भन्ने हो,’ गिरीले भने । 

चितवनमा १५ वर्षको अन्तरालपछि दुई वर्षअघि चार वटा र त्यसपछि एक वर्षको अन्तरालपछि यो दुई वटा तिलहरी चरा भेटिएका छन्। यसले यहाँका खोलानालामा आहारा कम भए, मान्छेको चापले चरालाई बस्न मिल्ने वातावरण भएन भन्ने संकेत गरेको गिरी बताउँछन् । 

मसिनो लामो चुच्चो हुने यो चराको मोटो घाँटीमा माला लगाए जस्तो कालो धर्सो हुन्छ । यही धर्साका कारण यसको नाम तिलहरी हुन गएको गिरीले बताए । हिमताल र हिमनदीनजिक गुँड लगाएर बच्चा कोरल्ने यो चरा चिसो बढेपछि आहारा खोज्दै तल झर्छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully