गाँजा र घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँछौँ : मुख्यमन्त्री बानियाँ 

गाँजा लगाउँदैमा प्रहरीले समात्ने र घरेलु मदिरा फाल्ने अवस्था अब रहँदैन : मुख्यमन्त्री बानियाँ

पुस २४, २०८२

प्रताप विष्ट

We will bring marijuana and homemade liquor under legal scope: Chief Minister Baniya

What you should know

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाँजा र घरेलु मदिरालाई कानुनी दायरामा ल्याइने बताएका छन्। प्रतिबन्धित तथा विवादित मानिँदै आएको गाँजा खेती र घरेलु मदिरा उत्पादनका लागि प्रदेशमा कानुन बनाएर नियमन गरिने उनले बताए।

राक्सिराङ गाउँपालिकाको १९औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले गाँजा र मदिरासम्बन्धी ऐन ल्याइने जानकारी दिए। गाँजाको सवालमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी प्रशोधन केन्द्र स्थापना गरिने उनको भनाइ थियो।

गाँजालाई औषधि निर्माणमा प्रयोग गरिने दाबी गर्दै उनले प्रदेश सरकारले आर्थिक समृद्धिको आधार परम्परागत खेती र उत्पादनलाई बनाउने बताए। मुख्यमन्त्री बानियाँका अनुसार औषधीय गाँजाको वैधानिकता र घरेलु मदिराको ब्रान्डिङ गर्ने तयारी सरकारको छ।

‘संघीयतापछि विकट गाउँहरू सुगमतर्फ उन्मुख हुनु नै गणतन्त्रको असली उपलब्धि हो। अहिलेको व्यवस्थामा गाँजा लगाउँदैमा प्रहरीले समात्ने र घरेलु मदिरा फाल्ने अवस्था अब रहँदैन,’ मुख्यमन्त्री बानियाँले भने, ‘हामीले कोदो र गिठ्ठाबाट बनेको मदिरालाई ब्रान्डिङ गरेर किसानको आयआर्जनसँग जोड्दैछौँ। प्रदेश सरकारले कानुन निर्माण गरेर वर्षौंदेखि लुकीछिपी हुँदै आएका गाँजा खेती र उत्पादनलाई उद्योगको रूप दिनेछ।’

उनले थपे, ‘हामी अब कुरामा अल्मलिँदैनौँ। गण्डकी प्रदेशले झैँ हामी पनि विधेयक ल्याएर गाँजाबाट क्यान्सरको औषधिसम्म बनाउने मार्ग खोल्छौँ। कोदो, मकै र किवीबाट बनेका घरेलु मदिरालाई प्रहरीले नष्ट गर्ने होइन, प्रदेश सरकारले ब्रान्ड बनाएर विदेश निर्यात गर्नुपर्छ। यसले ग्रामीण अर्थतन्त्रमा ठूलो फेरबदल ल्याउने र विदेशी मदिराको आयात प्रतिस्थापन गर्नेछ।’

We will bring marijuana and homemade liquor under legal scope: Chief Minister Baniyaमुख्यमन्त्री बानियाँले बुधबार राक्सिराङ गाउँपालिकाको चारतले ४३ कोठे भवनको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै उनले गाउँपालिकाले ‘गाउँको सिंहदरबार’ निर्माण गरेको उल्लेख गर्दै यो भवनबाट पालिकावासीले सहज रूपमा सेवा पाउने बताए। भवन ठूलो र भव्य बनाएर मात्र नहुने भन्दै उनले पालिकावासीलाई चुस्तदुरुस्त सेवा दिन सकेमा मात्र भवनको सार्थकता रहने बताए।

करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाख रुपैयाँको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो। भवन उद्घाटनसँगै गाउँपालिकाको कार्यालय तथा शाखाहरू सबै एउटै छानामुनि आएका छन्। 

राक्सिराङ गाउँपालिकाको कार्यालय हाल चैनपुरमै रहेको छ। भवन निर्माण हुनुअघि एकतले कच्ची भवनबाट पालिकावासीलाई सेवा दिँदै आएको थियो।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully