मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनीको तयारी

प्रदर्शनीमा तरकारी, फलफूल तथा नर्सरीलगायत कृषि बालीका ३६, पशुपन्छी तर्फका ६ र लघु उद्यमका ११ वटा स्टल रहनेछन्।

पुस २४, २०८२

नवराज श्रेष्ठ

Preparations for Agriculture and Small Enterprise Exhibition in Manthali

What you should know

रामेछाप — मन्थली नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण र कृषकको व्यावसायिकता प्रवर्द्धनका लागि आगामी पुस २६ र २७ गते 'नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला’ आयोजना गर्ने भएको छ।

मन्थली नगरपालिका–१३ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नवराज थापामगरले मन्थली–१ स्थित हाटे चौर (सोमबारे हाट परिसर) मा दुई दिने मेला सञ्चालन हुने बताए। मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्ने तय भएको छ ।

प्रदर्शनीका लागि हालसम्म ५३ वटा आवेदन प्राप्त भएको संयोजक थापामगरले बताए । जसमा तरकारी, फलफूल तथा नर्सरी लगायत कृषि बालीका ३६, पशुपन्छी तर्फका ६ र लघु उद्यमका ११ वटा स्टल रहनेछन्।

सहभागी उद्यमीका लागि नगरपालिकाले निःशुल्क स्टलको व्यवस्था गर्नुका साथै आवास, भोजन र सामग्री ढुवानीमा समेत सहुलियत दिने प्रबन्ध मिलाएको उनले बताए। 'किसानले उत्पादन गरेका वस्तुको प्रवर्द्धन गर्ने र एक–आपसमा सीप साटासाट गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो,' संयोजक थापामगरले भने, 'विगतको अनुभवका आधारमा यस पटक हामीले थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरेका छौँ।'

गत वर्ष करिब ७ हजार दर्शकले अवलोकन गरेको मेलामा १० लाख रुपैयाँ बराबरको उत्पादन बिक्री भएको तथ्याङ्क छ।

मेलामा सहभागीमध्ये १० वटा विधामा उत्कृष्ट हुने कृषक तथा उद्यमीलाई जनही ६ हजार ७ सय रुपैयाँका दरले पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए । उनका अनुसार पुरस्कार छनोटका लागि संयोजक थापामगरको नेतृत्वमा ६ सदस्यीय मूल्या‌ंकन समिति गठन गरिएको छ।

मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन संयोजक बाहेकका अन्य सदस्यले मात्र अ‌ंक प्रदान गर्ने कार्यविधि बनाइएको छ। नगर सभाको १७ औं अधिवेशनबाट विनियोजित ६ लाख रुपैयाँ बजेटमार्फत यो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully