सडक विस्तारका क्रममा भत्काइएका तथा जोखिमपूर्ण संरचनामा व्यापार सञ्चालन भइरहेको भन्दै मकवानपुर प्रशासनले तत्काल व्यापार रोक्न निर्देशन दिएको छ ।
What you should know
हेटौँडा — हेटौँडाको मुख्य बजारमा सडक विस्तार गर्ने क्रममा भत्काइएका जोखिमपूर्ण भवनहरूमा व्यापार व्यवसाय गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घर टहराहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक सीमाभित्र परेर भत्काइएका संरचनाहरूमा अझै पनि व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएकाले तत्काल रोक्न निर्देशन दिएको हो । हाल सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको कार्य स्थगित भए पनि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीले जोखिमपूर्ण घरमै व्यापार गरिरहेको देखिएकाले प्रशासनले उक्त कार्य रोक्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।’
यदि कसैले सूचनाको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना भएमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ । साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनसमेत सम्बन्धित सबैमा आग्रह गरिएको छ । भत्काइएका जोखिमपूर्ण भवनहरूमा पसल राखेर बिक्री वितरण गर्दै आइरहेका छन् ।
हेटौँडाको मुख्य बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आइतबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ तय भएको रिट हेर्न नभ्याइनेमा परेको हो । अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ । यसअघि पुस १३, पुस ६ र पुस २ गतेको पेसी पनि हेर्न नभ्याइने र नमिल्ने सूचीमा परेको थियो । सडक विस्तारका क्रममा आफ्नो घरजग्गा र सम्पत्तिको सुरक्षाको माग गर्दै विन्दवासिनी कंसाकारसहितका स्थानीयले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सडक डिभिजन हेटौँडाले एसियन हाइवे निर्माणका लागि हेटौँडाको मुख्य बजार क्षेत्रमा निर्मित घरटहरा र संरचना हटाएर सडक विस्तार कार्य मंसिर २० गतेदेखि सुरु गरेर अहिले अदालतको आदेश कुरेर सडक विभाग बसेको छ । सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने सूची रहेको छ । तीमध्ये अहिले करिब ५ सय संरचनाहरू भत्काउने काम भइसकेको छ ।
सडक डिभिजन हेटौँडाको सूचना बमोजिम रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक विस्तारका क्रममा गत मंसिर २० गते घर टहराहरू भत्काइएको थियो ।
