हेटौंडामा लागुऔषध कारोबारी र दुर्व्यसनीको संख्या बढ्दै

मकवानपुर प्रहरीले चालु आर्थिक वर्षमा लागुऔषध दुर्व्यसनी र कारोबारी गरी १ सय ४८ जना पक्राउ गरेको छ।

पुस २१, २०८२

प्रताप विष्ट

Number of drug dealers and addicts increasing in Hetauda

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाका अधिकांश वडामा लागुऔषधका दुर्व्यसनी र कारोबारीको संख्या रुपमा बढ्दै पाइएको छ।

भीमफेदी कारागारमा मात्र हेटौंडा उपमहानगरपालिकाका लागुऔषध दुर्व्यसनी र कारोबार सम्बन्धित १ सय ३० जना कैदीबन्दी छन्।

सोमबार आयोजित एक कार्यक्रममा उपमहानगरका अधिकांश वडामा लागुऔषधका दुर्व्यसनी र कारोबारीहरु रहेको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ। हेटौंडाका १९ वडामध्ये ४, १०, १२, १३ र  १५ नम्बरमा वडामा लागुऔषध कारोबारी र दुर्व्यसनीको संख्या बढी भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र  हेटौंडा उपमहानगरपालिकाले सोमवहार आयोजना गरेको लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रममा डीएसपी बोगटीले लागुऔषध दुर्व्यसनी र कारोबारीका कारण हेटौंडाका युवाहरु उच्च जोखिममा रहेको बताए।

हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामाले लागुऔषध नियन्त्रणका लागि अब स्थानीय सरकारले समेत लगानी गरेर काम गर्ने बताइन्। लागूऔषध नियन्त्रण थुनेर मात्र सम्भव नहुने उल्लेख गर्दै उनले सबै क्षेत्रबाट सचेतना फैलाएर मात्र यसको न्यूनीकरण गर्न सकिने बताइन्।

मकवानपुर प्रहरीले चालु आर्थिक वर्षमा १ हजार ६ सय ३० केजी गाँजा, साढे २३ केजी अफिम र १८० ग्राम खैरो हिरोइन बरामद गरेको जानकारी दिएको छ। यही अवधिमा लागुऔषध दुर्व्यसनी र कारोबारी गरी १ सय ४८ जना पक्राउ गरेको तथ्यांक सार्वजनिक गरिएको छ। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागुऔषधका दुर्व्यसनी र कारोबारीको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हेटौंडामा यसकै कारण आपराधिक घटना पनि बढ्दै गएको बताए।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully