फरार ६ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको साउनदेखि पुस २० गतेसम्म ४५ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइसकेको छ ।

पुस २१, २०८२

प्रताप विष्ट

6 absconding defendants arrested

What you should know

हेटौंडा — सवारी ज्यान, चेक अनादर र चोरी मुद्दामा अदालतद्वारा दोषी ठहर गरिएका फरार ६ जना प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–६ का ४९ वर्षीय विदुर सापकोटालाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सापकोटालाई सवारी ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले १ वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । अदालतको उक्त फैसलापश्चात सापकोटा विगत १४ महिनादेखि फरार रहेका थिए ।

यसैगरी हेटौंडा उपमहानगरपालिका–६ का १८ वर्षीय उपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ । विकलाई चोरी मुद्दामा जिल्ला अदालत मकवानपुरले तीन महिना कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएपछि उनी फरार रहेका थिए । कैद र जरिवाना असुलीका लागि सापकोटा र विकलाई प्रहरीले आइतबार नै जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको थियो । अदालतले कैद र जरिवाना असुलीका लागि प्रतिवादीद्वयलाई भीमफेदी कारागार पठाएको प्रहरीले जनाएको छ ।

यसैगरी चेक अनादर मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका तर फरार रहेका हेटौंडा उपमहानगरपालिका–५ का सुस्मिता बोहरा, हेटौंडा उपमहानगरपालिका–१५ का आशाकुमारी थापा, ईश्वर मगर र मिथुन बललाई आइतबार नै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ६ जनालाई नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।

मकवानपुर प्रहरीले अदालतको फैसलालाई कार्यान्वयन गर्ने उद्देश्यका साथ अदालतद्वारा दोषी ठहर भई कैद र जरिवाना तोकिएका फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । पुस महिनाको यस अवधिसम्म २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतसमक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बोगटीले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको साउनदेखि पुस २० गतेसम्म ४५ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइसकेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully