भरतपुरका महिला न्यानो बाँड्दै चेपाङ गाउँमा

बालविकासदेखि ३ कक्षासम्म पढाइ हुने दौतेसको राष्ट्रिय आधारभूत विद्यालयमा समुदाय चेपाङका ४२ जना विद्यार्थी छन्।

पुस १९, २०८२

रमेशकुमार पौडेल

Women from Bharatpur sharing warmth in Chepang village

What you should know

चितवन — भरतपुर महानगरपालिका–१० का महिलाहरुको संस्था ‘स्पन्दन नेपाल’ले कालिका नगरपालिका–११ सिद्धि दौतेस गाउँको विद्यालयका बालबालिकालाई न्यानो लुगा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरेको छ ।

हरेक वर्ष चिसो बढेसँगै चेपाङ गाउँमा पुगेर न्यानो कपडा वितरण गर्दै आएको उक्त संस्थाले शनिबार जिल्लाको पहाडी भेग कालिका–११ सिद्धि दौतेस गाउँको स्कुलमा पढ्ने विद्यार्थीलाई न्यानो लुगा, स्टेशनरी र खेलकुद सामाग्री वितरण गरेको हो।

बालविकासदेखि ३ कक्षासम्म पढाइ हुने दौतेसको राष्ट्रिय आधारभूत विद्यालयमा समुदाय चेपाङका ४२ जना विद्यार्थी छन्।

हरेक वर्ष विकट गाउँका विद्यालय र समुदायमा सहयोग लिएर जाने गरेको स्पन्दनले यो पटक चिसोयाममा दौतेस स्कुलका बालबालिकालाई सम्झेको अध्यक्ष अनिता खनालले बताइन्।

विद्यालयका प्रधानअध्यापक खड्का चेपाङका अनुसार दुई घण्टा पैदल हिँडेर पनि दौतेस स्कुलमा विद्यार्थी पढ्न आउँछन्। तीन कक्षा उत्तीर्ण भएपछि रन्तेस या वाङथला स्कुल झर्नुपर्ने र त्यहाँ जान दुई घण्टा पैदल हिँड्नु पर्ने प्रअ चेपाङले बताए । उनीहरुले पाँच कक्षा पास भएपछि थप पढ्न सिद्धिको तीन दोभान या शक्तिखोर बजारको स्कुल जानु पर्छ । उनीहरुले त्यही बसेर नपढे घरबाट आउजाउ गर्न सकिन्न ।

जेनतेन कच्ची सडक पुगेको गाउँमा खानोनीको पनि अभाव छ । सोलारबाट लिफ्टिङ गरेर खाने पानीको प्रबन्ध गरे पनि भरपर्दो नहुँदा डोकोमा पानी बोक्नु पर्ने बाध्यता रहेको कक्षा १ मा पढ्ने समिक्षा चेपाङकी आमा नानुमायाले बताइन् ।

यसअघि पनि सिद्धि क्षेत्रका पहाडी टाकुरामा रहेका ६ वटा विद्यालयमा न्यानो कपडा बाँडिएको संस्थाकी अध्यक्ष खनालले बताइन् । संस्थाले महिला र बालबालिकाका लक्षित स्वास्थ्य शिविरहरु पनि आयोजना गर्दै आएको उनले बताइन् । 

संस्थामा आवद्ध महिलाहरुले नै व्यत्तिगत रुपमा रकम जुटाएर सहयोग कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष खनालले बताइन् । संस्थामा प्रायः भरतपुर–१० मा पर्ने भरतपुर हाइट क्षेत्रका महिला आवद्ध छन्। सुरुमा १० जना महिला आवद्ध भएको संस्थामा अहिले भरतपुर–११ बाट पनि महिलाहरु समेटिएको र सदस्य संख्या २५ पुगेको सचिव विमला दाहालले बताइन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully