भक्तपुरको त्रिवेणीधाममा एक महिने माधननारायण मेला सुरु

भक्तपुर नगरपालिकास्थित त्रिवेणीधाममा शनिबारदेखि एक महिनासम्म कठोर व्रत बसेर मनाइने प्रसिद्ध माधवनारायण मेला सुरु भएको हो।

पुस १९, २०८२

सुन्दर शिल्पकार

भक्तपुर — भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजबाट एक महिनासम्म लाग्ने माधवनारायण व्रत मेला सुरु भएको छ।

नेपाल सम्वत् ७ सय २२ देखि सुरु भएको यो व्रत भक्तपुर नगरपालिकास्थित त्रिवेणीधाममा शनिबारदेखि एक महिनासम्म कठोर व्रत बसेर मनाइने प्रसिद्ध माधवनारायण मेला सुरु भएको हो।

राज रणजित मल्ल आफैले सुरु गरेको यो व्रत मेला काठमाडौंको साँखुको श्रीस्वस्थानी व्रत मेला भन्दा पुरानो भएको पुजारी मनोज शर्माले जानकारी दिए।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको व्रत बस्ने गर्छन्। यस वर्ष २१  पुरुष र ७ जना महिलाले नियमित व्रत बस्ने पुजारी शर्माले बताए। व्रतालु महिलाहरु यही बसे पनि पुरुषहरु भने हरेक दिन बिहान त्रिवेणी खोलामा आएर नुहाउने र व्रतालु महिलासँगै बिभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने गर्छन्।

व्रतालुहरुले एक महिनासम्म श्रीस्वस्थानीको महिमा गाउने गर्छन्। माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

व्रतालुहरुले एक महिनामा विभिन्न मठमन्दिर र त्रिवेणी नदीको दर्शन गरी माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ। यो एक महिना कठोर व्रत बस्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।   

सुन्दर शिल्पकार

Link copied successfully