रामेछापमा प्रतिनिधिसभा निर्वाचनका लागि ७ हजार ८४६ नयाँ मतदाता थपिए, दुई मतदान केन्द्र थप

जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा १ लाख ८० हजार १०६ जना मतदाता रहेका थिए ।

पुस १९, २०८२

नवराज श्रेष्ठ

7,846 new voters added to Ramechhap for House of Representatives elections, two polling stations added

What you should know

रामेछाप — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा ४.३५ प्रतिशतभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

२ नगरपालिका र ६ गाउँपालिका अन्तर्गत ६४ वटा वडा रहेको रामेछापमा यसपटक मतदाता संख्या बढेसँगै दुई वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा १ लाख ८० हजार १०६ जना मतदाता रहेका थिए । हाल ७ हजार ८४६ जना ४.३५ प्रतिशत मतदाता थपिएपछि कुल मतदाता संख्या १ लाख ८७ हजार ९५२ जना पुगेको छ ।

उनका अनुसार हाल जिल्लामा पुरुष मतदाता ९६ हजार ८९२ जना र महिला मतदाता ९१ हजार ६० जना छन् । मतदान स्थल भने अघिल्लोकै ९६ वटा कायम रहेका छन् । तर मतदाता संख्या वृद्धि भएपछि मतदान केन्द्र दुई वटा थप भई २२८ पुगेका छन् ।

थप गरिएका मतदान केन्द्रमध्ये उमाकुण्ड गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय, सुनुवारधारामा एक र मन्थली नगरपालिका–११ स्थित मनकामना माध्यमिक विद्यालय, नाटिलामा एक रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सरस्वती मावि सुनुवारधारामा ९० जना र मनकामना मावि नाटिलामा १८२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार नवयुवाहरूको गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अन्तरिम सरकारको निर्णयअनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरिएको थियो ।

यस अवधिमा झण्डै ६ हजार जनाले नयाँ रूपमा मतदाता नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराएका र आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकहरूलाई यस निर्वाचनका लागि मतदाता कायम गरिएको छ ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully