दूधको उत्पादन लागत घटाउन किसानलाई प्रशिक्षण

४० हजार दुग्ध किसान रहेको चितवनमा हाल दैनिक साढे ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ। १ लाख ६५ हजार लिटर दूध चितवनमा खपत हुने गरेको छ भने बाँकी काठमाडौं, मकवानपुरलगायत जिल्लामा प्रशोधनका लागि जाने गरेको छ ।

पुस १७, २०८२

राजु चौधरी

Training farmers to reduce milk production costs

What you should know

चितवन — भरतपुर महानगरपालिका–१६ विजयनगरका शंकर अधिकारी गाईपालन गर्न थालेको लामो समय भयो । उनले दुई वटा गाईबाट बिहान र बेलुका गरी दैनिक ३२ लिटरसम्म दुध बिक्री गर्थे ।

पछिल्लो समय उनको दुध उत्पादन घटेको छ । उत्पादन घट्दा लागत भने बढ्दो छ। अहिले दैनिक २३ लिटर मात्रै दुध उत्पादन हुन थालेपछि चिन्तित बनेका अधिकारीलाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूध उत्पादनको लागत घटाउन दिएको प्रशिक्षणमा उनी उत्साहित भएर सहभागी बनेका छन् । 

विजय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सभाहलमा सुरु भएको दुई दिने तालिमको पहिलो दिन नै धेरै कुरा सिक्न थालेकाे अधिकारीले सुनाए । ‘हामीले धेरै पानी खुवाउने, कुँडो पकाएर खुवाउने, चोकर खुवाउने गर्दथ्यौं, त्यसो गर्न नहुने कुरा तालिमबाटै सिक्यौं,’ किसान अधिकारीले भने, ‘अन्य चिज धेरै खुवाउँदा लागत बढ्ने, उत्पादन कम हुने रैछ, घाँस खुवाउनमै जोड गर्ने कुरा सिक्न पायौ ।’ ४ वर्षदेखि गाईपालन गर्दै आएका रामचन्द्र दवाडीले पनि तालिमबाट धेरै कुरा सिक्न पाएको बताए ।  

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले चितवनका अगुवा दुग्ध किसानलाई उनीहरुकै ठाउँमा पुगेर दूधको उत्पादन लागत घटाउन प्रशिक्षण दिन थालेको हो। अगुवा किसानहरुलाई जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम दिन थालिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए। ‘अनावश्यक खानेकुरा खुवाएर दुधको उत्पादन लागत बढ्न थालेपछि किसानहरुलाई सहज होस् भनेर जिल्लाभर नै तालिमको सुरुवात गरेका हौं, यसले लागत घटाउनमा मद्दत पुग्ने छ,’ उनले भने ।  

हेफर नेपाल ललितपुरको आर्थिक सहयोगमा बिहीबारदेखि भरतपुर महानगरपालिका–१६ विजयनगरस्थित विजय सहकारीको सभाहलमा दुई दिने तालिम सुरु गरिएको हो। विजयनगरका कुल २ सय किसानमध्ये ३५ जना अगुवालाई यो तालिम प्रदान दिइरहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव तथा विजय दुग्ध उत्पादक सहकारीका अध्यक्ष कल्याण अधिकारीले जानकारी दिए। ‘अहिले अगुवा किसानलाई तालिम दिएका छौं, यसबाट प्रशिक्षक निकाल्ने हाम्रो लक्ष्य छ,’ अधिकारीले भने । 

किसानहरुलाई भरतपुर महानगरपालिका अन्तरगतको पशु सेवा कार्यालय मंगलपुर सेवा केन्द्रका प्राविधक बन्धुराज अधिकारी र पशु चिकित्सक रचित देवकोटाले तालिम दिइरहेका छन् । यसअघि राप्ती, खैरहनी नगरपालिकाका किसानलाई लक्षित गरी दुधको लागत घटाउने तालिम संचालन भइसकेको छ । जिल्लाका अन्य सहकारी संस्थाहरुमा पनि तालिमलाई निरन्तरता दिने तयारी छ। 

दूध उत्पादनको लागत गाई, भैंसीलाई खुवाइने आहाराको आधारमा निर्धारण हुन्छ । कसैको धेरै त कसैको लागत थोरै पनि निस्कने गरेको छ । २९ वटा गाई पाल्दै आइरहेका दुग्ध उत्पादक सहकारीका अध्यक्ष अधिकारीले आफूले आहारामै लागत मूल्य निकाल्न सकिने बताए । ‘सबैको लागत मूल्य फरक–फरक हुन सक्छ, मेरो एक लिटर दूध उत्पादनमा ४९ रुपैयाँ लागत मूल्य पर्ने गरेको छ,’ अधिकारीले भने ।  

४० हजार दुग्ध किसान रहेको चितवनमा हाल दैनिक साढे ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ । १ लाख ६५ हजार लिटर दूध चितवनमा खपत हुने गरेको छ भने बाँकी काठमाडौं, मकवानपुरलगायत जिल्लामा प्रशोधनका लागि जाने गरेको छ । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully