एमाले र रास्वपाबाट समानुपातिकमा मकवानपुरका कोही परेनन्

कांग्रेस र राप्रपाले दुई/दुई जना र नेपाली कम्युनिष्ट पार्टीले भने मकवानपुरका एक जनाकाे नाम समानुपातिक बन्दसूचीमा समेटेको छ।

पुस १७, २०८२

प्रताप विष्ट

No one from Makawanpur was elected from UML and RSP in the proportional representation.

हेटौंडा — आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा मकवानपुरका एक जनाको पनि नाम समेटेको छैन ।

यी दुई दलले सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा मकवानपुरका एक जनाको पनि नाम राखिएको छैन । 

कांग्रेस र राप्रपाले दुई/दुई जना र नेपाली कम्युनिष्ट पार्टीले भने मकवानपुरका एक जनाकाे नाम समानुपातिक बन्दसूचीमा समेटेको छ। 

एमालेले अन्तिम समयसम्म एमाले मकवानपुरका  केन्द्रीय सदस्य रामेश्वर रानालाई जनजातिको कलष्टरवाट समानुपातिकमा राख्ने आश्वासन दिएर काठमाडौं बोलाएको थियो। तर बन्दसूचीमा उनको नाम राखिएन । उनको स्थानमा पार्टीका उपसभापति रामबहादुर थापालाई राखिएको छ। 

गत प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट पार्टीले रानालाई उम्मेदवार बनाउने भने पनि  अन्तिममा राप्रपा नेपालका कमल थापालाई उम्मेदवारी दिन लगाएर समर्थन गरेको थियो। थापाले सूर्य चिन्ह लिएर उमेदवारी दिएका थिए । 

एमालेको तर्फबाट समानुपातिकको सूचीमा मकवानपुरमा कोही पनि नपरेकाले जिल्लास्तरका नेताहरु केन्द्रीय नेतृत्वसँग रुष्ट देखिएका छन्। 

नेपाली कांग्रेसले मकवानपुरका दुई महिलालाई समानुपातिकमा राखेको छ। कांग्रेसले यहाँका पवित्रा सुनार र शर्मिला श्रेष्ठलाई समानुपातिकको बन्दसूचीमा राखेको हो। राप्रपाले शिवराम थापा र सरस्वती केसी थिङको नाम बन्दसूचीमा राखेको छ । 

मकवानपुरमा समानुपातिकको बन्दसूचीमा नेपाली कम्युनिष्ट पार्टीले चेपाङ समुदायबाट मनहरी गाउँपालिका—३ का मंगलसिंह चेपाङलाई समानुपातिकको राखेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully