करिब ४ लाख ५० हजार जनालाई रोजगारी दिएको कुखुरा पालन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत योगदान दिएको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ।
What you should know
चितवन — १३ आैं राष्ट्रिय पोल्ट्री (कुखुरा पालन) दिवसको अवसरमा बिहीबार बिहान भरतपुरमा प्रभातफेरी गरिएको छ।
नेपाल कुखुरा व्यवसायी मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा आदिवासी थारू समुदायको परम्परागत नाच र पञ्चेबाजासहितको झाँकी पनि थियो। पोल्ट्री व्यवसायीका साथै पशु विज्ञान विषय पढ्ने कलेजका विद्यार्थी पनि प्रभातफेरीमा सामेल भएका थिए।
नेपालमा २०१७ पुस १७ गते बारा परवानीपुरमा तत्कालीन राजा महेन्द्रले सेन्ट्रल ह्याचरीको उद्घाटन गरेका थिए। सोही दिनदेखि नेपालमा कुखुरा पालन व्यवसायको आधुनिक युग आरम्भ भएको पोल्ट्री व्यवसायीहरूको मत छ।
२०७० देखि हरेक वर्ष पुस १७ गते राष्ट्रिय पोल्ट्री दिवस मनाउँदै आएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए।
नेपालमा हाल पोल्ट्री व्यवसायमा १ खर्ब ६० अर्ब रूपैयाँ लगानी भएको मञ्चले जनाएको छ। करिब ४लाख ५० हजार जनालाई रोजगारी दिएको कुखुरा पालन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब तीन प्रतिशत योगदान दिएको भट्टले बताए।
पोल्ट्री व्यवसायमा वार्षिक १ खर्ब ४५ अर्ब रूपैयाँ बराबरको कारोबार हुने गरेको मञ्चलले जानकारी सार्वजनिक गरेको छ। पोल्ट्री क्षेत्रमा उपभोग हुने दानाको कच्चा पदार्थ अत्याधिक मात्रामा आयात हुने गरेको छ।
भ्याक्सिन, आैषधि र आैजार, यन्त्र उपकरणहरू पनि लगभग सबै विदेशबाटै आउँछन । पोल्ट्री क्षेत्रलाई चाहिने वस्तु आयातमा वर्षमा ४५ अर्ब रूपैयाँ बाहिरिने अनुमान रहेको अध्यक्ष भट्टले बताए।
कोरोना माहामारीपछि ओरालो लागेको पोल्ट्री क्षेत्र अझै पनि पूर्ववत अवस्थामा आउन नसकेको, मासु, अण्डा, चल्लाको अवैध आयात अझै पनि ठूलो चुनौतीमा रहेका कारण पोल्ट्री व्यवसायको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्ने भट्टले बताए ।
