१४ महिनापछि दुवै आँखाको दृष्टि फर्कँदा दंग

निजगढ तिलगंगा आँखा अस्पतालमा सञ्चालित चार दिने शिविरमा १ हजार २ सय ९१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।

पुस १५, २०८२

प्रताप विष्ट

Shocked to see vision return in both eyes after 14 months

What you should know

हेटौंडा — सर्लाही वरहथवा नगरपालिका-९ मुर्तियाकी ६५ वर्षीया रामकुमारी महतो पुनः ज्योति फर्किएपछि दंग छिन् ।

१४ महिनाअघि दुवै आँखाको दृष्टि गुमाएकी उनको मोतियाबिन्दुको शल्यक्रियापछि ज्योति फर्केको हो । ‘आज आँखा देख्न पाउँदा उत्साह र जाँगर बढेको छ,’ रामकुमारीले भनिन्, ‘छोराबुहारी नातिनातिनासँगै संसार देख्न पाउनु ठूलो कुरा रहेछ ।’ 

करिब १४ महिनादेखि उनी दृष्टिविहीन दैनिकी बिताउँदै आएकी थिइन्। ‘दिनरात अन्धकारमा बस्नु पर्दा सधैं यस्तो होइन्छ की जस्तो लागेको थियो,’ उनले हास्दै भनिन्, ‘भगवानरुपी डाक्टरले आँखा देखाइदिए, माघ ५ गते नातिनीको बिहे छ, अब आँगनमा छमछमी नाँच्ने हो । दुवै आँखा नदेखेका कारणले ज्वाइँको अनुहार पनि देखिएको थिएन । अब त जीवन बिताउन सजिलो हुने भयो ।’ 

सामुदायिक आँखा अस्पताल हेटौंडाकी डा. रीता गुरुङले मंगलबार बिहान उनका दुवै आँखाको पट्टी खोलिदिए । उनले सबैभन्दा पहिला सामुन्ने रहेकी बुहारी रामकली महतोलाई देखिन् । बुहारीले नै उनलाई मोतियाबिन्दुको शल्यक्रिया गर्न निजगढ तिलगंगा आँखा अस्पतालमा ल्याएकी थिइन् ।   

खेतीपाती र घरको काममा सक्रिय रामकुमारी १४ महिनाअघि दुवै आँखा एक महिनाको फरकमा  मोतियाबिन्दुले ढाकेपछि परिवारको सहारामा मात्र आश्रित थिइन् । बाहिरी संसारसँग उनको सम्पर्क लगभग बिच्छेद भइसकेको थियो । 

Shocked to see vision return in both eyes after 14 months

बाराको निजगढ नगरपालिकास्थित निजगढ तिलगंगा आँखा अस्पतालमा सोमबार बिहान उनका दुवै आँखाको शल्यक्रिया गरिएको थियो। अस्पतालमा संचालित चार दिने शिविरमा १ हजार २ सय ९१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। 

दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया रामकुमारीको मात्र भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले बताए । निजगढ तिलगंगा आँखा अस्पतालको शिविरलाई व्यवस्थित रुपमा सम्पन्न गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठ एक सातादेखि निजगढमा खटिएका छन्। शिविरमा ११ वर्षीय बालकदेखि ८५ वर्षीया बृद्धासम्मको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनले बताए।

शुक्रबारदेखि संचालित चार दिने शिविरमा १ हजार ५ सय ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य थियो । केही विरामीको अन्य रोगका कारणले र केहीले चिसोका कारण आउन नसक्दा २ सय ५९ जना बृद्धबृद्धाको शल्यक्रिया गर्न नसकिएको नेत्र विशेषज्ञ डा.गुरुङले बताइन्।

उक्त आँखा अस्पतालका चिकित्सकहरुले बारा, पर्सा, रौतहट र सर्लाहीका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर निशुल्क आँखा शिविर आयोजना गरी मोतियाबिन्दुका बिरामी पहिचान गरेका थिए। चार जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको निशुल्क आँखा शिविरमा ६ हजार ५ सय १३ जनाको आँखा जाँच गरिएकोमा १ हजार ५ सय ५० जनामा मोतियाबिन्दुका बिरामी भेटिएका थिए। 

मोतियाबिन्दुका बिरामीलाई शुक्रबारदेखि पालैपालो गरेर निजगढस्थित तिलगंगा आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरिएको व्यवस्थापक श्रेष्ठले बताए। शल्यक्रियाका लागि आउने बिरामीसहित कुरुवालाई अस्पतालले यातायात र खाने बस्ने पनि मिलाएको थियो। आँखाको पट्टी खोलेपछि उनीहरुलाई घरघर पुर्‍याईदिने व्यवस्था पनि अस्पतालले गरेको थियो।

अप्ररेसन रिजोइस सिंगापुरको सहयोग, तिलगंगा आँखा प्रतिष्ठान र निजगढ तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा परीक्षण शिविरसहित मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर संचालन गरिएको हो। नेत्र विशेषज्ञ डा. गुरुङको नेतृत्वमा उक्त शिविरमा  ४० जना स्वास्थ्यकर्मी खटिएका थिए ।  

२०८१ कात्तिकमा निजगढमा स्थापना गरिएको निजगढ तिलगंगा आँखा अस्फतालले आँखाको नियमित जाँच, शल्यक्रिया सेवा, चश्मा तथा औषधि सेवा र नियमित सामुदायिक कार्यत्रम गर्दै आएको छ। शिविर संचालन गरेर उक्त अस्पतालमा एकै पटक १ हजार २ सय ९१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको यो पहिलो पटक हो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully