रामेछापमा जेनजी आन्दोलनको राजनीतिक प्रभावबारे फोनिज-संवाद 

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले नवयुवाहरूको आन्दोलनले राजनीतिक सचेतनामा वृद्धि भएको, वैकल्पिक राजनीति उदय भएको र सामाजिक सञ्जालको प्रयोगलाई बलियो बनाएको बताए ।

पुस १४, २०८२

नवराज श्रेष्ठ

Phonies-Samvad on the political impact of the Genji movement in Ramechhap

What you should know

रामेछाप — जेनजी आन्दोलनको राजनीतिक प्रभाव विषयक फोनिज संवाद कार्यक्रम सम्पन्न भएको छ । फोनिजले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष मान्दै आएको सत्यनारायणबहादुर श्रेष्ठको ११० औँ जन्मजयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आइतबार कार्यक्रम गरेको हो ।

कार्यक्रममा जेनजी आन्दोलनको पृष्ठभूमि, यसको राजनीतिक प्रभाव, युवाको बढ्दो राजनीतिक सक्रियता तथा लोकतान्त्रिक अभ्यासमा यसले पुर्‍याएको प्रभाव लगायतका बारेमा संवाद गरिएको थियो । कार्यक्रममा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गत नवयुवाहरूको आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै केही समूहले आफ्नो स्वार्थ पूरा गरेको बताए ।

वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले गत भदौ २३  र २४ को घटनालाई अलग–अलग रूपमा हेरेर निष्पक्ष छानबिन हुनुपर्ने बताए । नेकपा एमालेका नेता समेत रहेका श्रेष्ठले पार्टी संसद् पुनः स्थापनाको पक्षमा रहे पनि सरकारले निर्वाचनको वातावरण बनाएमा निर्वाचनमा जानसमेत एमाले तयार रहेको बताए।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नवयुवाहरूको आन्दोलनका केही माग जायज भए पनि आन्दोलन निर्णायक मोडमा पुग्दा सबै कुरा भताभुङ्ग भएको टिप्पणी गरे। जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले भने लामो समयदेखि एउटै नेतृत्वको निरन्तरता, बढ्दो बेरोजगारी, महँगी, भ्रष्टाचार र सुशासनको अभावका कारण युवापुस्तामा असन्तुष्टि चुलिँदै जाँदा जेन–जी आन्दोलन जन्मिएको बताए। 

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले नवयुवाहरूको आन्दोलनले राजनीतिक सचेतनामा वृद्धि भएको, वैकल्पिक राजनीति उदय भएको  र सामाजिक सञ्जालको प्रयोगलाई बलियो बनाएको बताए । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी र जेनजी आन्दोलनको राजनीतिक प्रभावका बारेमा छलफल पत्र प्रस्तुत गरेका थिए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully