उनले अमेरिकाले नेपाललाई सुरुआती समयमा गरेको ठूलो सहयोग राप्ती दून परियोजनाका बारेमा बुझ्न सुरु गरे । यसका बारेमा बुझ्दै जाँदा थारु समुदायसँग नजिकिए ।
What you should know
चितवन — अमेरिकाका टम रबर्टसन नेपालका थारु समुदायका बारेमा निकै चासो राख्छन् । उनका लागि नेपाल नौलो हैन । सन् १९८८ मै नेपाल आएका उनी त्यसयता धेरै पटक नेपाल आउजाउ गरे । पिसकोरका स्वयम्सेवक भइसकेका उनी नेपाली बोल्छन् र बुझ्छन् ।
आदिवासी थारु समुदायको सामाजिक अध्ययनमा उनको विषेश रुचि छ । अहिले नेपाल आएका उनी चितवनको थारु बस्ती डुल्दैछन् र थारु समुदायका अगुवा तथा प्रौढहरुसँग संवादमा व्यस्त छन् ।
यो पटक उनको चासो राणा र राजाहरु चितवनमा सिकार खेल्न आउँदा थारुहरुले कसरी सघाए भन्ने कुरामा पनि छ ।
भारतमा रहेका ब्रिटेनका राजा र राजकुमार पनि नेपाल आउँथे सिकार गर्न । त्यो बेला उनीहरुलाई सघाउने थारुहरुका बारेमा कहाँ के–के लेखिएको छ भनेर खोजेका टमले यस बारेमा समुदायकै पाका पुरानाहरुबाट पनि जानकारी बटुल्दै छन् । सिकारका लागि प्रयोग भएको थारुहरुको ज्ञान, परिश्रम र योगदान उजागार नभएको उनलाई लाग्ने गर्दछ ।
चितवनमा राप्ती दून विकास परियोजना सुरु भएपछि २०१३ सालयता वस्ती विस्तार तीव्र रुपमा भएको हो । यो परियोजना अमेरिकी सरकारको सहयोगमा नै सुरु भएको हो । अमेरिकाको इतिहासका बारेमा विद्यावारिधी (पिएचडी) गरेका टमले अमेरिका र नेपालको ऐतिहासिक पाटो पनि केलाउन सुरु गरे ।
यही क्रममा उनले अमेरिकाले नेपाललाई सुरुआती समयमा गरेको ठूलो सहयोग राप्ती दून परियोजनाका बारेमा बुझ्न सुरु गरे । यसका बारेमा बुझ्दै जाँदा थारु समुदायसँग नजिकिए ।
राप्ती दून परियोजना सुरु भएर पहाडका मन्छेको बसाइँसराइ बढ्नुभन्दा पहिला चितवनको मैदानी क्षेत्रका गाउँहरुमा बस्ने आदिवासी थारुहरु नै थिए ।
यस परियोजनाले चितवनलाई कस्तो बनायो ? थारुहरुको सरोकारलाई ठाउँ दियो कि नाइ ? उनी यसबारेमा बुझ्न खोज्दैछन् । एकजना सिखाराम महतोको कथाले उनलाई सोच्न बाध्य बनायो कि राप्ती दून परियोजनाले त्यो बेलाको सामाजिक परिवेश र मानसिकता बुझेर जग्गा वितरण गर्न नसकेको पो हो कि ?
‘मैले यस्ता पात्रहरु पनि भेटे जस्ले जग्गा लिए जनावरको दु:ख हुन्छ भनेर लिन मानेनन् । अर्कोतर्फ जग्गा लिएपछि ट्याक्स पनि तिर्नु पर्दछ भन्ने डर परेछ,’ टमले सुनाए । त्यो बेला राप्ती दून परियोजनाले पहाडबाट बसाइँ सरेर आउनेहरुलाई जग्गा वितरण गरेको थियो । त्यसैगरी यहाँ बसेका थारु समुदायका कामदारहरु अर्थात हरुवा चरुवालाई पनि जग्गा लिन आउ भनेर बोलाएको टमले बताए ।
‘तर उनीहरु नगएको पाइयो’ टम भन्छन् । यसमा नजानेहरुलाई दोष दिने पक्षमा उनी छैनन् । ‘बोलाउँदा पनि किन जग्गा नलिएको हो उनीहरुको मानसिकता त प्रोजेक्टको मान्छेले बुझ्नुपर्ने हुन्थ्यो नि । नयाँ जमाना आयो, ट्याक्सको पिर मान्नु पर्दैन, जग्गा राखे फाइदा हुन्छ भनेर प्रोजेक्टका मान्छेले किन भनेनन्,’ टमले भने । त्यो बेला प्रोजेक्टका मान्छेहरुले यहाँको समाज, संस्कृति, चलन र जमिनका बारेमा उनीहरुको सोच बुझ्न नसकेका कारण धेरैजनाले जग्गा पाएनन् भन्ने टमलाई लाग्ने गरेको छ । टमको तर्कसँग थारु अगुवाहरु पनि सहमत देखिए ।
थारु कल्याणकारिणी सभा चितवन, क्षेत्र नम्बर आठका सभापति रामेश्वर चौधरीले थपे ‘हो ट्याक्सका कारणले नै नलिएका हुन् । त्यो बेला जिमिन्दारले मालपोत उठाउँथ्यो । सरकारको प्रतिनिधि नै जिम्दार हुन्थ्यो । उसको काम जसरी हुन्छ मालपोत उठाउने । दिन नसके नाकको नथिया पनि लिने । जग्गा पनि कब्जा गर्ने गर्दथ्यो जिमिन्दारले ।’
जग्गाको परिमाणमा भन्दा हरही खुरही अर्थात कति हलो छन् कति गोरुहरु छन् भनेर पनि त्यो बेला ट्याक्स उठाउने गरेको डरले जग्गा लिन नमानेको उनले सुनाए । राप्ती दूनले वस्ती बसाल्नुअघि पनि चितवनमा राजा महाराजाको आउजाउ चल्थ्यो । नेपालका राजा र राणाहरु मात्रै हैन भारतमा बसेका ब्रिटेनका राजा राजकुमारहरु पनि नेपाल आउँथे । त्यो बेला चितवनको जंगलमा प्रशस्तै ठुलाजनावरहरु हात्ती, गैंडा र पाटे बाघहरु थिए ।
राणा र राजाहरु पनि सिकार गर्न चितवन आउँथे । उनीहरुकै निमन्त्रणामा ब्रिटेनका राजा र राजकुमारहरु पनि सिकारकै लागि चितवन आउँथे । त्यो बेलाको थारु समाज कस्तो थियो होला ? यसमा टमले चासो लिएका छन् ।
चितवनका केही पुराना फोटाहरु भेटिन्छन् । तर ति राजा र राणाहरुले सिकार खेल्दा खिचेको फोटोहरु हुन् । त्यसमा थारु, थारु समुदाय र वस्तीहरु देखिदैन भन्छन टम । सिकार खेल्न आएका राणाहरुसँग थारुहरु पनि देखिने गरेको उनले बताए । सिकारसँग थारुहरु अभिन्न रुपमा जोडिएका हुन्थे । हात्तीमा चढेर बाघ, गैंडाको सिकार गर्नु पर्दथ्यो । त्यो बेला माहुते थारु मात्रै थिए । त्यसैले हात्तीमा बसेका माहुते फोटोमा देखिने भए । तर राजा र राणाहरुले सिकार गर्ने बेलामा थारुहरुको काम के के थियो ?
टमले यो प्रश्नको उत्तरका लागि पुराना कागजहरु खोज्न सुरु गरे । बेलायतका राजकुमारहरु भारत घुम्न आउँदा नेपाल छिरेर चितवन, बर्दिया र शुक्लाफाँटासम्म पुग्थे । राजकुमारहरुसँग पत्रकारहरु पनि अउने गरेको र उनीहरुले यस्ता यात्राका बारेमा पत्रिकामा लेख्ने गरेको टमले बताए । ‘पत्रिकामा लेखेको मैले पढेको छु । तर त्यसमा पनि राजाहरु र राणाहरुकै बारेमा लेखिएको छ । कस्तो राम्रो, कति बलियो र बहादुर भनेर राजा र राणाहरुका बारेमा लेख्छन् । थारुको कुरा छैनन्’ उनले सुनाए ।
टमको ठम्याइ छ थारु नभएको भए त्यस्ता ठुला शाही सिकार अभियानहरु सम्भव नै हुँदैन थिए । उनले यस बारेमा थारु समुदायका बुढा पाकाहरुलाई भेटेर कुरा गरे । उनले थाहा पाए राजा र राणाहरु आउने भनेपछि एक घरबाट एकजना अनिवार्य नै सिकार सम्बन्धि कामका लागि जानु पर्ने रहेछ । त्यो बेला बेठबेगारी प्रथा थियो । अर्थात यस्तो काम निःशुल्क गर्नु पर्दथ्यो । बाटो बनाउनु, क्याम्प राख्न पाल टाँग्नु, खाना बनाउनु थारुहरुको जिम्मेदारीभित्र पदस्थ्यो । महिनौ सित्तैमा काममा खट्नु पर्ने रहेछ ।
सिकारमा आएका सरकारी अधिकारीहरुले थारु जमिन्दारलाई भेटेर बाघ कहाँ छन्, गैंडा कहाँ छन्, कुन ठाउँमा धेरै छन्, कुन ठाउँमा सिकार गर्दा राम्रो हुन्छ भनेर सल्लाहा गर्ने गरेको थारु प्रौढहरुले टमलाई बताएका छन् । सिकार गर्नुभन्दा अघि जंगलमा चारै तिर मान्छेहरु पठाएर खेद्न लगाउने पनि गर्दा रहेछन् । यसो गर्दा जनावरहरु एकातर्फ एकीकृत हुने र सिकारमा सजिलो हुने रहेछ । सिकारमा गुरौंको मद्दत लिने, जनावर नभेटे पुजाआजा गर्ने परिपाटी थियो भन्ने जानकारी उनले पाएका छन् ।
त्यसैले माहुते मात्रै हैन अन्य धेरै काम थारुहरुले गर्ने रहेछन् भन्छन टम । यस्तो काममा महिलाभन्दा पुरुषहरु मात्रै लागेको उनले जानकारी पाएका छन् । बाघलाई सेता कपडाले घेरो हाल्ने चलन निकै पुरानो हो । सेता कपडाले चारै तिर घेरेर बीचमा बाघलाई राखेपछि बाघ त्यो घेरा नाघेर जाँदैन भन्ने गरिन्छ । सिकारका बेलामा पनि यसै गरिन्थ्यो । अहिले बाघ उद्धारमा पनि यो काम गरिदै आएको छ । जसलाई भिटले घेर्नु भनिन्छ । जुन विधि नेपाल बाहेक अन्य देशमा टमले देखेका छैनन् ।
‘मलाई लाग्छ यो नेपालको ज्ञान हो र थारुहरुकै ज्ञान हो’ भिट बारेमा टमले सुनाए । तर यस्ता धेरै विषयहरु बाहिर नआएको हुँदा टम खोजीमा लागेका छन् । र निचोडहरुलाई विस्तृत रुपमा लेख्ने पनि बताए । ‘धेरै कुराहरु खोज्दै छु । तर सुनेको कुरा मात्रैले पनि हुँदैन । कागज पनि खोज्नु पर्यो । कागज पनि पछिको हैन त्यही बेलाको खोज्ने । एउटाले सुनाएको कुरा अरुसँग पनि मिल्छ या मिल्दैन भनेर जाँच्ने पनि गर्नु पर्दछ । लेखि हाल्न पनि हुँदैन’ टमले सुनाए ।
