एक वर्षमा ५ हजारले अवलोकन गरे चुरियामाई सुरुङ

सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए ।

पुस १४, २०८२

प्रताप विष्ट

5,000 people visited Churiyamai Tunnel in one year

What you should know

हेटौंडा — दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्गको एक वर्षमा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको उक्त सुरुङ अवलोकन गर्न आउनेको संख्या एक वर्षमा ५ हजार ४० जना रहेको छ ।

सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारण अवलोकन गर्न आउँछन् । 

लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । चार करोड ५७ लाख रुपैयाँमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग २०८१ पुस ८ गते उदघाटन गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले एक वर्षमा सुरुङ अवलोकन गर्न आउनेहरुवाट एक लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको बताए । चालु आवको साउनदेखि मंसिरसम्म २ हजार ३३ जना आन्तरिक एव बाह्य पर्यटकले सुरुङ अवलोकन गरेका छन् ।

सुरुङमार्ग अवलोकनका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १ सय रुपैयाँ, विद्यार्थीलाई प्रतिव्यक्ति २० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै उक्त सुरुङ मार्ग अवस्थित छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो । २०७९ साल वैशाख १९ गतेसम्म १९८ मिटर लम्बाइको सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिए पनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको थियो । सुरुङको चौडाई साढे २ मिटर र उचाई ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनः निर्माण गरिएको छ ।

नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार सम्पन्न गरी यातायात पूर्वाधार निर्देशनालय हेटौंडा उपमहानगरपालिकालाई एक वर्षअघि हस्तान्तरण गरेको थियो । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सूरुङ मार्गमा सर्वसाधारणहरुलाई खुला गरे पनि कुनै पनि सवारी साधनहरु प्रवेश निषेध गरिएको छ । एक सय ८ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर इन्जिनियर थापाको हेटौंडा उपमहानगरपालिकाले अर्धकदको सालिक निर्माण गरेको छ ।

इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरु नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । 

चन्द्रशमशेर राणाको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेनाको प्रयोग गरिएको थियो । थापा नेपाली सेनाकै इन्जिनियर थिए । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् । सपनामा उनले त्यसै स्थानमा देवी देखेको र पूजाआज गरेरमात्र सूरुङ खन्नु भनेकाले विधिपूर्वक पुजा गरेर सुरुङ खन्ने काम गर्नुको साथै मन्दिर पनि बनाएको बताइन्छ । सुरुङ मार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको थियो । 

७०० मिटर लम्बाई, ९ फिट चौडाई र १० फिट उचाई रहेको उक्त सुरुङ मार्गको मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकभन्दा बढी उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे । पथलैया–हेटौडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाड्यो ।

सुरुङ मार्गका दुवैतर्फको प्रवेशद्वार खुला रहे पनि सुरुङको बीच भाग धसिएपछि अवरुद्ध रहेको थियो । सुरुङको बीचमा करिब ४० मिटर धसिएको थियो । उक्त भागको मर्मत सम्भार पश्चात अहिले सुरुङबाट वारपार गर्न सकिने भएको छ ।

बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण गरिएको हो । ‘त्यतिबेला यस क्षेत्रका बासिन्दाहरुले गीतै बनाएका थिए । ‘हाम्रा राजा क्या अक्किलदारी, ल्याए मोटर चुरेमा भ्वाङपारी’ भनेर गीत गाउँथे ।

भीमफेदीवाट काठमाडौं आवत–जावत गर्न निर्मित उक्त सूरुङले त्यतिबेला नेपालीहरुको जनजीवनलाई निकै सहज बनाएको थियो । ‘त्यतिबेला यो सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारी साधनहरु आवत जावत नै गर्न सक्ने थिएनन्,’ हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत डा. भीम तिम्लसिनाले भने, ‘यही सुरुङ भएर विश्वविख्यात भुगर्भविद डा. टोनी हेगेनले आफ्नो सानो गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी पनि बोकेर काठमाडौं लगिएको थियो ।’

डा. टोनी हेगनले प्रकाशित गरेको ‘नेपाल’नामक पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully