उनीहरु दक्षिण तर्फ न्यानो ठाउँको यात्रामा निस्कन्छन् । यसरी बसाइँ सर्ने अनेकौ चरामध्ये बार हेडेड गुजलाई नेपालीमा खोया हाँस भन्ने गरिन्छ ।
What you should know
चितवन — हिउँद लागेपछि चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने राप्ती र नारायणी नदी किनारमा नौलो आवाज गुञ्जिन्छ । बसाइँ सरेर आहाराको खोजीमा आउने अनेकौं चराहरुका बथान नदी क्षेत्रमा भेटिन्छन् ।
खाने कुरा चारो र बास खोज्दै उड्ने र भेटेपछि एकै ठाउँमा झुम्मिने यी चाराको आवाजले नदी किनार तरङ्गित भइरहेको हुन्छ । हेर्दा रंगी बिरंगी, सफा र सर्लक्कका हुन्छन् यी चराहरु । शरिर सेतो सेतो तर निख्खर हैन लगभग खरानी रंगको ।
पहेलो ठुँड, चहकिलो सेतो टाउकोमा एक आँखादेखि अर्कोसम्म पुगेको कालो धर्सो अनि त्यसकै समानान्तर अर्को कालै धर्सो ।
बसाइँ सरेर आउने हिउँदे चराका प्रजाति ५० देखि ६० को हाराहारीम हुन्छन् । तर यो पहिचान हो बार हेडेड गुजको ।
जसको गर्धनको अगाडिको भाग हल्का कालो रंगको हुन्छ र दायाँ बायाँ सेतो धर्सो कोरिएको हुन्छ । हल्का कालो रंग पखेटाहरुमा पनि मिसिएको हुन्छ । यो चरा बथानमा बस्छ । यो उत्तरको हिमाल नाघेर नारायणीसम्म आइपुग्छ ।
हिउँदयाममा यसरी बसाइँ सरेर आउने चराहरुको अनुगमनमा ३० वर्षदेखि खट्दै आएका छन् नवलपरासीका संरक्षणकर्मी डिबी चौधरी । उनका अनुसार यता हिउँद लाग्दा रुसको साइबेरिया, अनि मंगोलिया र चीनको उच्च भेगमा हिउँ जमेर सवै आहारा पुरिन्छ । हिउँनै हिउँले ढाकेपछि चराहरु कहाँ बस्ने, के खाने ?
त्यसैले उनीहरु दक्षिण तर्फ न्यानो ठाउँको यात्रामा निस्कन्छन् । यसरी बसाइँ सर्ने अनेकौ चरामध्ये बार हेडेड गुजलाई नेपालीमा खोया हाँस भन्ने गरिन्छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को पिठौलीघाट नारायणी नदी किनारमा खोया हाँसको ठूलो बथान बस्ने गर्दछ । डिबी चौधरीको टोलीले चार पाँच वर्षअघि पिठौली घाटमा ५६७ वटा खोया हाँस भेटेका थिए ।
दुई तीन सयभन्दा कम त्यहाँ कहिल्यै आउँदैनन् खोया हाँस । यो पटक पनि खोया हाँसको चिरपरिचित आवाज पिठौली किनारमा गुञ्जिन सुरु भएको छ । डिबी चौधरीको टोली बिहिबार त्यो क्षेत्रमा गएको थियो ।
यो पटक पिठौलीमा गोलो बनाएर लहेरै बसेका ६६० वटासम्म खोया हाँस भेटिए । उनीहरुसँगै मिसिएका थिए २५० चखेवा । चखेवा पनि बसाइँ सरेर यहाँ आउँछन् ।
हिमाल नाघेर आएका खोया हाँसको बथानले पिठौली नारायणी नदीमा पौडदै लेउ टिपेर खान्छन् । पिठौली क्षेत्र खोया हाँसको राम्रो बासस्थल भएकोमा डिबी दंग देखिन्छन् । तर नारायणीको भंगालो सर्दै सर्दै गएको छ ।
![Lost geese cross the mountains while floating in the Narayani River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bar-headed-goose-7-27122025041949-1000x0.jpg&w=1001&h=0)