राष्ट्रिय मानव अधिकार आयोगले गत साता सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकका १२ वटा कारागारमा चेपाङ समुदायका महिला र पुरुष गरी ११२ जना कैदीबन्दी छन् ।
What you should know
हेटौंडा — गरिबीका कारण अति सीमान्तकृत चेपाङ समुदायका युवालाई लागुऔषध तस्करी र चोरी–सिकारीहरूले प्रयोग गर्दै आएकाे पाइएकाे छ।
लागुऔषध व्यापारी र चोरी–सिकारमा संलग्नहरुले चेपाङ युवालाई भरियाकाे रुपमा प्रयोग गर्दै आएका छन् ।लागुऔषध तथा वन्यजन्तु सम्बन्धित अपराधमा संलग्न रहेकाे अभियाेगमा १ सय १२ जना चेपाङ समुदायका युवा विभिन्न कारागारमा कैदीबन्दी जीवन बिताइरहेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले गत साता सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकका १२ वटा कारागारमा चेपाङ समुदायका महिला र पुरुष गरी ११२ जना कैदीबन्दी छन् । आयोगका अधिकृत किरण बरामले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चितवन कारागारमा ४१ जना, मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीमा ४०, धादिङ कारागारमा ९, नुवाकोटकाे कारागारमा ७ जना चेपाङ समुदायका कैदीबन्दी छन् ।
काठमाडौंस्थित भद्रगोल जेलमा ४, पर्साको वीरगन्ज जेलमा ४, ललितपुरको नख्खु जेलमा ३ र रुपन्देही, स्याङ्जा, रसुवा जेलमा १/१ जना चेपाङ समुदायका युवा लागुऔषध बोकेको र गैंडा मारेको आरोपमा जेलजीवन बिताइरहेका छन्। गैंडा मारेको आरोपमा मात्र चितवन कारागारमा १७ जना चेपाङ समुदायका युवाले कैदीबन्दी जीवन बिताइरहेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
लागुऔषध गाँजा र अफिम तस्करहरूले चेपाङ युवाहरूलाई भारी बोकाएर भारततर्फ लैजाने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । अफिम र गाँजा बोकेबापत राम्राे ज्याला दिने लाेभ देखाउँदा गरिबीका कारण उनीहरू लागुऔषध बोक्न बाध्य हुने गरेकाे आयोगकाे प्रतिवेदनमा छ।
लागुऔषध र चोरी–सिकारीलगायतका गैरकानुनी कार्यमा चेपाङ समुदाय भरियाको रूपमा फस्ने गरेको आयोगका अधिकृत बरामले बताए । कारागारमा रहेका चेपाङ समुदायका कैदीबन्दीमध्ये ३३ प्रतिशत लागुऔषध र २४ प्रतिशत वन सम्बन्धी मुद्दामा रहेका छन्। राष्ट्रिय निकुञ्ज र चेपाङ समुदायको द्वन्द्व लामाे समयदेखि निरन्तर चल्दै आइरहेको छ । ऐलानी जग्गामा बस्न बाध्य भएकाले जीव जनावरले पुर्याएको क्षतिपूर्ति समेत नपाउने अवस्थामा चेपाङ समुदाय रहेकाे आयाेगकाे प्रतिवेदनमा छ ।
आयोगले चार जिल्लामा स्थलगत अध्ययन अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदनमा चेपाङ समुदायका ९० प्रतिशत बालबालिका मात्र विद्यालय भर्ना हुने गरेकाे र २० प्रतिशतभन्दा बढी बालबालिका ड्रप आउट हुने गरेकाे उल्लेख छ। चेपाङ समुदायमा बालविवाह व्याप्त रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
नेपालका २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ। २०७८ को जनगणना अनुसार नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ जना रहेको छ। चेपाङको जनसंख्या चितवनमा ३५ हजार ६ सय ३७, मकवानपुरमा २३ हजार ६ सय ५०, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जना जनसंख्या छ।
चेपाङ समुदायमा ३९ प्रतिशत मात्र साक्षर छन्। महिला साक्षरता दर १५ प्रतिशत मात्र छ । अहिले पनि करिब १० प्रतिशत चेपाङहरू नागरिकताविहीन छन्। करिब २५ प्रतिशत चेपाङ परिवारकाे नाममा एक टुक्रा जमिन पनि छैन। लामो समयदेखि आफ्नो रगत र पसिनाले सिँचेर खनिखोस्री गरिएको खोरिया पनि उनीहरूको नाममा छैन। त्यति मात्र होइन, घामपानी छेक्ने टहराले ओगटेको जमिन पनि उनीहरूको स्वामित्वमा छैन। नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले भने, ‘२५ प्रतिशतभन्दा बढी चेपाङहरू सुकुम्बासी अवस्थामा छन्।’
प्राकृतिक स्रोतमा आधारित जीवनशैली भएका चेपाङहरू प्राकृतिक दोहनका कारण उनीहरूको पहिचान नै संकटमा पर्दै गएको छ। चेपाङ समुदायलाई नागरिकता र जन्म दर्तालगायतका प्रमाणपत्र प्रदान गर्न सरकारले एकीकृत घुम्ती शिविर सञ्चालन गर्नुपर्ने आयोगको सुझाव रहेको छ।
न्यूनतम आधारभूत आवश्यकताभन्दा टाढा रहेका चेपाङ समुदायले आफ्नै घरदैलो र जीवनमा लोकतन्त्र अनुभूति गर्न नपाएको चेपाङ समुदायका अगुवा एवं बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङले बताए।
