बनेपामा एक दिने महिला उद्यमी मेला

महिलाहरूले आफ्नो श्रम, सीप र लगानीबाट उत्पादन गरेका सामग्रीको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले एक दिने मेला आयोजना गरिएको संयोजक निरु बैदारले जानकारी दिइन् ।

पुस ११, २०८२

ज्योती श्रेष्ठ

One-day women entrepreneurs fair in Banepa

What you should know

काभ्रे — बनेपामा महिला उद्यमीलाई लक्षित गर्दै एक दिने मेला सञ्चालन गरिएको छ । लायन्स क्लब अफ बनेपाको आयोजनामा तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे र बनेपा नगरपालिका ९ को समन्वयमा शुक्रबार वडा कार्यालय प्राङ्गणमा मेला आयोजना गरिएको हो ।

महिलाहरूले आफ्नो श्रम, सीप र लगानीबाट उत्पादन गरेका सामग्रीको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला संयोजक निरु बैदारले जानकारी दिइन् । 

उनले महिलाहरूमा क्षमता र सीप हुँदाहुँदै पनि बजारसम्म पहुँच नपुग्नु अहिलेको प्रमुख चुनौती भएको बताइन् । ‘महिलाले गुणस्तरीय सामग्री उत्पादन गरिरहेका छन् तर बजार अभावका कारण निराश हुनुपरेको अवस्था छ,’ उनले भनिन्, ‘यस्ता मेलाले उनीहरूको उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’ 

स्थानीय उत्पादनप्रति उपभोक्ताको रुचि बढाउने तथा महिलालाई आत्मनिर्भर बनाउने प्रयास स्वरुप मेलाको आयोजना गरिएको उनले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै थप सहभागिताका साथ मेला आयोजना गर्ने योजना रहेको उनले बताइन् ।

बनेपा ९ की कार्यवाहक वडाध्यक्ष मनिषा तामाङले स्थानीय तहको तर्फबाट महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले महिलाहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा मेला सहयोगी बन्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकारको तर्फबाट आवश्यक सहकार्य र समर्थन निरन्तर रहने प्रतिबद्धता जनाइन् ।

मेलामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका घरेलु तथा रैथाने उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । जसमा मकै, जुनेलो, भटमास, विभिन्न प्रकारका फलफूलबाट तयार पारिएका क्यान्डी, हस्तकलाका सामग्री, परम्परागत नेवारी परिकार, घरायसी सामग्रीलगायतका १२ वटा विभिन्न स्टल छन् । मेलामा सहभागी महिलाहरुले आफ्ना उत्पादनको प्रत्यक्ष बिक्रीसँगै उपभोक्ताबाट प्रतिक्रिया पाउने अवसर समेत पाएका छन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully