सौराहामा सुरु भयो हात्ती महोत्सव

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव सुरु भएको हो ।

पुस ११, २०८२

राजु चौधरी

Elephant festival begins in Sauraha

What you should know

सौराहा (चितवन) — चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९औं संस्करणको हात्ती महोत्सव सुरु भएको छ ।

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव सुरु भएको हो । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे । महोत्सवको उद्घाटनको अवसरमा संरक्षणकर्मी र पत्रकारहरुलाई सम्मान गरिएको थियो । 

महोत्सवको पहिलो दिन हात्ती लिग चरणको मैत्री फुटबल (पेनाल्टी सुटआउट) खेल खेलाइएको छ । पेनाल्टी सुटआउटमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको चम्पाकली, क्षेत्रीय होटल संघ सौराहाको बसन्तीकली ‘ए’, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) सौराहाको बसन्तीकली ‘बी’, निकुञ्ज सफारी प्रालिको पूजाकली, सौराहा जिप तथा डुंगा सेन्टरको मारुतीकली र कसरा पर्यटन व्यवसायी समितिको लक्ष्मीकली गरी ६ हात्तीले सहभागिता जनाएको हात्ती फुटबलका संयोजक विनोद तिमिल्सिनाले जानकारी दिए । शुक्रबार यी हात्तीबीच दुई चरणमा पेनाल्टी सुटआउट खेलाइएको थियो भने शनिबार पनि थप दुई चरणमा पेनाल्टी सुटआउट पछि ४ हात्ती फाइनलमा प्रवेश गर्ने तिमिल्सिनाले जानकारी दिए । 

महोत्सव अन्तरगत शनिबार हात्ती हात्तीको शृंगार प्रतियोगिता, फुटबल (पेनाल्टी सुटआउट), स्वास्थ्य शिविर र डुंगा दौड प्रतियोगिता हुने क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले जानकारी दिए ।  

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा हात्ती मैत्री प्रतियोगिताहरू, पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम रहेको संयोजक गुणराज थपलियाले जानकारी दिए । ८० वटा हात्ती सहभागी महोत्सव पुस १३ गतेसम्म चल्ने छ । 

महोत्सव अवधिमा सौराहाका होटल तथा रेस्टुरेन्टमा खाना र आवासका लागि १० प्रतिशत छुट दिने आयोजकले जनाएको छ । क्रिसमसको बेलामा विदेशी पर्यटकको बसाई लम्ब्याउनका लागि सौराहामा  २०५५ सालबाट हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully