धार्मिक उत्सवहरुमा भीडभाड हुने र टाढाबाट दाहसंस्कारका लागि आउने देवघाटधामलाई प्लास्टिकमुक्त राख्न भने चुनौतीपूर्ण देखिन्छ ।
What you should know
चितवन — प्रसिद्ध धार्मिकस्थल देवघाटधामलाई शुक्रबार प्लास्टिक निषेधित क्षेत्र घोषणा भएको छ । देवघाट क्षेत्र विकास समितिले स्थानीय तह र अन्य सामुदायिक संघसंस्थासँग सहकार्यमा यो घोषणा गरेको हो ।
धार्मिक उत्सवहरुमा भीडभाड हुने र टाढाटाढाबाट दाहसंस्कारका लागि आउने देवघाटधाम प्लास्टिकमुक्त घोषणा कार्यान्वयन भने चुनौतीपूर्ण देखिन्छ ।
देवघाट बसपार्कमा घोषणा कार्यक्रम भइरहँदा त्यो भन्दा तल नदी किनारको दाहसंस्कार क्षेत्रको खाजा पसल अगाडि चिया खानेहरुले बिस्कुटका खोल असरल्ल फालेको देखिन्थ्यो । चिया पसलेले मलामी आएकाहरुलाई तत्कालै केही नभने पनि उनीहरु उठेपछि आफुले सबै फोहर तत्कालै सफा गर्ने बताए ।
पानीका बोतल र अन्य फोहर राख्न ठाउँठाउँमा फलामका सानाठूला डस्टबिन नभएका हैनन् । तर पनि छिटपुटरुपमा पानीका बोत्तल फालिएका थिए ।
देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने कार्यत्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यसको कार्यान्वयन चुनौतिपूर्ण भएको बताइन् । ‘यहाँ आउनेहरु वातावरण देखेर मन्त्रमुग्ध होउन भनेर नै हामीले यो घोषणा गरेको हो । तर यसको कार्यान्वयनको पाटो चुनौतिपूर्ण छ । कार्यान्वयन गर्छाैं भनेर व्यक्तिव्यक्तिले प्रण गर्नुपर्छ,’ मेयर दाहालले भनिन् ।
देवघाटधामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने योजना भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रममा नै राखेको उनले बताइन् । कार्यान्वयनका लागि महानगरले सहयोग गर्ने र बजेट पनि उपलब्ध गराउने मेयर दाहालले प्रतिवद्धता जनाइन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिकाले कानुननै बनाएर प्लास्टिक निषेधित क्षेत्र अभियानलाई प्रभावकारी बनाउने बताए । उनले ४० माइक्रोनभन्दा तलको पातालो खाले प्लास्टिक झोलालाई मात्र निषेध गरेको र जहाँत्यहीँ फोहर फाल्न रोकेको बताए । ‘हामीले देवघाटमा धेरै गर्नु बाँकी नै छ । धार्मिक क्षेक्रलाई दुर्गन्धमुक्त र हराभरा बनाउनु छ । अहिले विशेष गरेर नदी तटीय क्षेत्रमा केन्द्रीत छौं । देवघाटको सबै क्षेत्र स्वच्छ रहनु पर्छ । यसमा गाउँपालिका कटिबद्ध छ,’ अध्यक्ष तिलबहादुर थापाले भने ।
देवघाटमा रहेका विभिन्न आश्रममध्ये हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वतीले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए । ‘सभा समारोहमा बोलेर मात्रै हुँदैन । सरकारले सबै गरोस् हामी निरोगी रहन्छौं भनेर पनि धेरै बिग्रँदै गएको छ । यसमा सरकारदेखि सर्वसाधारण सबै प्रतिबद्ध भएर लाग्नु पर्छ,’ उनले भने, ‘संसार प्लास्टिकै प्लास्टिकको थुप्रो हुन लागेको देख्दा यसकाविरुद्ध तत्कालै सबै जाग्नुपर्ने छ । नभए पृथ्वीलाई स्वस्थ र ऊर्जावान राख्न सकिन्न ।’
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गैंडाकोटको सामाजिक संस्था सहमतिले सञ्चालन गरेको ‘नदीसँगै हामी’ परियोजना अन्तर्गत देवघाटलाई प्लास्टिकमुक्त घोषणा भएको हो । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका प्रतिनिधि करुण देवानले नारायणीमा देवघाटदेखि गोलाघाटसम्मको आठ ठाउँमा भएको फोहरको विश्लेषण गर्दा प्लाष्टिक अत्याधिक भेटिएको बताए । ‘प्लास्टिकका कारणले पनि नारायणीको अवस्था बिग्रँदै गएको छ । त्यसैले यो अभियान सुरु भएको हो । धर्मले मान्छेलाई अनुशासनमा राख्छ । धार्मिक क्षेत्रमा भएको यो अभियानको सन्देश देशका सबैतिर प्रभावकारी रुपमा जाने देखिन्छ,’ देवानले भने ।
देवघाट क्षेत्र विकास समितिका सदस्य चन्द्रमित्र पण्डितले देशविदेशबाट देवघाट आउनेहरु प्लास्टिक निषेधित क्षेत्रमा जाँदै छौं भन्ने सोचेर प्लास्टिक नबोकेर आउन अनुरोध गरे । क्षेत्र विकास समितिले भरतपुर महानगरपालिका, तनहुँ गाउँपालिका र गैंडाकोट नगरपालिकासँग सहकार्य गर्दै प्लास्टिकमुक्त अभियान सुरु गरेको समितिका अध्यक्ष ईश्वरीराज लौडारीले बताए ।
माघे संक्रान्तिमा देवघाटधाममा विशेष मेला लाग्छ । दामोदर कुण्डबाट बग्दै आएको कालीगण्डकी र गोसाइकुण्डबाट बग्दै आएको त्रिशूली नदीको देवघाटमा मिलन हुन्छ । यी दुई नदी धार्मिक हिसाबले पवित्र मानिन्छन् । माघे संक्रान्तिमा यहाँ स्नान गर्न हजारौं श्रद्धालु आउने गर्छन् । अन्य बेला पनि प्रायः भीढ हुने भएकाले देवघाटलाई प्लास्टिकमुक्त राख्न चुनौतिपूर्ण देखिएको हो । क्षेत्र विकास समितिले फोहर राख्नका लागि छुट्टाछुट्टै ठूलासाना डष्टबिनको व्यवस्था गरेको जनाएको छ । दाहसंस्कारस्थलमा प्रयोग भएका ब्लेड राख्नलाई साना डिब्बा पनि राखेको अध्यक्ष लौडारीले बताए । सानाठूला गरी फलामका ३५ वटा कन्टेनर राखेका कारण तोकिएकै ठाउँमा फोहर, बोत्तल राख्न समितिले अनुरोध गरेको छ ।
