रेबिजका कारण बनेपामा दुई जनाको मृत्यु भएपछि नगरपालिकाले सचेतना, खोप अभियान र सामुदायिक कुकुर गणनाजस्ता कार्यक्रम सुरु गरेको छ ।
What you should know
काभ्रे — गत वर्ष मंसिर २९ गते बनेपा नगरपालिका-६ की ४० वर्षीया सुमित्रा भुजेलको रेबिजका कारण मृत्यु भयो ।
त्यसको ७ महिनापछि २०८२ असारको दोस्रो साता बनेपा-२ का ७४ वर्षीय जीवनाथ घिमिरेलाई कुकुरले टोकेको थियो । उपचारका कारण उनको पनि मृत्यु भयो ।
एक आर्थिक वर्षमै बनेपामा सामुदायिक कुकुरको टोकाइबाट रेबिज संक्रमणका कारण दुई जनाको मृत्यु भएको विवरण जनस्वास्थ्य कार्यालय काभ्रेसँग छ ।
त्यसो त काभ्रेमा कुकुरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि भएको कार्यालयको भनाइ छ ।२०७९/८०मा ३ हजार २५१ जना, २०८०/८१ मा ३ हजार ३१३, २०८१/८२ मा ३ हजार ८३५ र २०८२/८३ को साउनदेखि हालसम्म १ हजार ३३४ जनाले रेबिजविरुद्धको खोप लगाएको विवरण कार्यालयसँग छ । काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा खोप लगाउनेको संख्या धेरै छ ।
धुलिखेलमा २०७९/८० मा ९१३, २०८०/८१ मा ८४८ र २०८१/८२ मा १ हजार २७ जनाले खोप लगाएका थिए । पालिकाको स्वास्थ्य शाखाका प्रमुख सन्दीप केसीका अनुसार रेबिजविरुद्धको खोप प्राथमिक स्वास्थ्य केन्द्रमा सहजै पाइने भएकाले कुकुरको टोकाइपश्चात् धेरै बिरामी केन्द्रमै आउने गरेका छन् । रेबिजबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न पालिकाले सचेतनामूलक कार्यक्रम, रेबिजविरुद्धको खोप अभियान, सामुदायिक कुकुरको बन्ध्याकरणलगायत विविध कार्यक्रम नगरपालिकाले सञ्चालन गर्दै आएको उनले बताए ।
बनेपाले विशेष गरेर वडा नं २ र ६ लाई लक्षित गरेर रेबिजबारे जनचेतनामूलक कार्यक्रम, सामुदायिक कुकुरको संख्या कम गर्न कुकुर बन्ध्याकरण, रेबिजविरुद्ध खोप लगायतका कार्यक्रम गर्दै आएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख महेश्वर श्रेष्ठका अनुसार एक आर्थिक वर्षमै बनेपामा रेबिजबाट दुई जनाको मृत्यु भएपश्चात् विशेष सतकर्ता अपनाइएको छ ।
नगरपालिकाको पशु शाखाका अनुसार, पालिकाले अहिले सामुदायिक कुकुरको गणना गरिरहेको छ । यसले पालिकामा कति सामुदायिक कुकुर छन् भन्ने तथ्यांक राख्न मद्दत गर्ने शाखाले जनाएको छ ।
रेबिजविरुद्धको खोप लगाउने आउनेहरुमध्ये अधिकांश सामुदायिक कुकुरको टोकाइका कारण आउने गरेको जनस्वास्थ्यका कार्यालय काभ्रेले जनाएको छ । कार्यालयकी प्रमुख रागीश्री श्रेष्ठले कुकुरको टोकाइपश्चात रेबिजविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो समय बढेको उनले बताइन् । तर कार्यालयमा खोपको मात्रा न्यून रहेको छ । पालिकाहरुमा रेबिजविरुद्धको खोपको माग बढ्दै गएको र माग अनुसार आपूर्ति गर्न कठिनाई भएको उनको भनाइ छ । ‘सामुदायिक कुकुरको उचित व्यवस्थापन गर्न नसक्दा अहिले जिल्लामा कुकुरको टोकाइपश्चात् रेबिजविरुद्धको खोप लगाउनको संख्या बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, स्थानीय तह लगायतका निकायहरुको समन्वय र सहकार्यको आवश्यकता रहेको छ ।’
पशु सेवा कार्यालय काभ्रेले विभिन्न समयमा रेबिजविरुद्धको विशेष अभियान सञ्चालन गर्दै आएको कार्यालयकी पशु विकास अधिकृत सुशिला श्रेष्ठ बताउँछिन् । उनका अनुसार काभ्रेको १३ वटै पालिकामा सामुदायिक कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइएको छ ।
विभिन्न निकाय तथा पालिकाहरुले रेबिजविरुद्धको विभिन्न कार्यक्रम गर्दै आए पनि यसको उचित व्यवस्थापन भने हुन सकेको छैन ।
