सात वर्षअघि भीरबाट लडेर आँखामा चोट लागेयता उनको क्रमशः दृष्टि गुम्दै गएको थियो । आर्थिक अभाव र अस्पतालसम्म पुग्न नसक्दा वर्षौं अन्धकारमै बाँच्न बाध्य उनकाे शिविरमा शल्यक्रियापछि दृष्टि फर्केकाे हाे ।
What you should know
सिन्धुपाल्चोक — बलेफी गाउँपालिका जलविरे माथिल्लो भेगका ७० वर्षीय धर्मदत्त पौड्याल बुधबार सात वर्षपछि नातिनातिनाको अनुहार प्रष्ट देख्दा उनी भक्कानिए ।
मोतीबिन्दुको सफल शल्यक्रियापछि आँखाको पट्टी खोल्दा उनी स्वास्थ्यकर्मीको अगाडि भावुक देखिए।
सात वर्षअघि भीरबाट लडेर आँखामा चोट लागेपछि उनको क्रमशः दृष्टि गुम्दै गएको थियो । उमेरसँगै बढेको मोतीबिन्दुको समस्याले उनी झण्डै दृष्टिविहीनजस्तै बनेका थिए । आर्थिक अभाव र अस्पतालसम्म पुग्न नसक्दा उनी वर्षौं अन्धकारमै बाँच्न बाध्य भए । ‘दुवै आँखा बन्दजस्तै थिए, सात वर्षपछि उज्यालो देखें,’ उनले भने ।
बाह्रबिसे नगरपालिका–२ कर्थलीका ७८ वर्षीय साङबहादुर तामाङले पनि तीन वर्षपछि आँखा देखे । मंगलबार शल्यक्रिया गरेर ज्योति फर्किएपछि उनले हर्षित हुँदै सबैलाई नमस्कार गर्न भ्याए । ‘आँखा नहुँदा जिन्दगी अँध्यारो हुन्छ । आँखानै सबैभन्दा ठूलो साथी रहेछ,’ उनले उपचारमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गरे ।
बाह्रबिसे नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट फौड्याल र तामाङजस्तै एकसय २० जनाले मोतीबिन्दुको शल्यक्रिया गराएका छन् । लठ्ठीको सहारामा शिविर आएका बृद्धबृद्धा शल्यत्रियापछि हिँडेरै घर फर्किए थिए ।
पुस ६ देखि ९ गतेसम्म बाह्रबिसे नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) मा सञ्चालन गरिएको शिविरमा ४९० जनाको आँखा परीक्षण तथा उपचार गरिएको आयोजकले जनाएको छ । कमजोर आर्थिक अवस्था, भौगोलिक विकटता र सूचनाको अभावका कारण घरमै बसेका दृष्टिविहीनलाई लक्षित गर्दै आँखा रोग विशेषज्ञ डा. प्रताप कार्कीसहित १५ जनाको टोलीले गाउँ–गाउँमै पुगेर बिरामी पहिचान गरेको थियो ।
सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकको संयोजनमा सञ्चालन गरिएको शिविरको बाह्रबिसे नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रबिसे, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे र शारदा माध्यमिक विद्यालय स्थानीय आयोजक थिए । शिविरमा त्रिवि शिक्षण अस्पताल अन्तर्गतको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले प्रदान गरेको थियो ।
ईन्द्रावती समाजका अध्यक्ष भूपेन्द्र थापाले जिल्लाका मध्य र माथिल्ला भेगका बासिन्दा अझै पनि आँखा सम्बन्धी सेवाको पहुँच बाहिर रहेको उल्लेख गर्दै यस्ता शिविरले वर्षौंदेखि अँध्यारोमा बसेकालाई उज्यालो फर्काएको बताए ।
