दुर्गमका दुवै वडा मोटरेबल पुल नहुँदा वर्षमा झण्डै चार महिना सडक सम्पर्कबाट विच्छेद हुँदै आएका थिए ।
दोलखा — मोटरेबल पुल बनेसँगै विगु गाउँपालिका–६ र ७ मा अब बाह्रै महिना यातायात संचालनमा आउने भएको छ । मोटरेबल पुल नहुँदा आलम्पू र विगुका झण्डै २ हजार ५ सय परिवार हरेक वर्षामा सडक संजालविहीन बन्दै आएका थिए ।
बाग्मती प्रदेश सरकारले दुर्गम आलम्पू र विगु जोड्ने पक्की पुल बनाइदिएसँगै अब यी वडा बाह्रै महिना सडक सञ्जालमा जोडिएका हुन् । पुल नबन्दा खोलामा हेलिएर जोखिम मोल्दै सिंगटी र सदरमुकमा चरिकोट आउजाउ गर्नुपर्ने वाध्यता थियो ।
विगु–६ को विगु खोलामा ६ करोड लागतमा पुल निर्माण सम्पन्न गरिएको बाग्मती प्रदेशको पूर्वाधार विकास कार्यालय चरिकोटका प्रमुख हरि ओझाले बताए । पुल बनेसँगै उत्तरी क्षेत्रको दुर्गम आलम्पू अब वर्षभरि नै सडक सञ्जालमा जोडिएको उनले बताए । यस्तै विगु–७ गगताले–विगु खोला जोड्ने पुल ६ करोड ५५ लाखमा निर्माण सकिएको हो । दुवै पुल समयमै सकिएकाले केही दिनमा निर्माण कम्पनीले हस्तान्तरण गर्ने तयारी गरिरहेको उनले बताए ।
दुर्गमका दुवै वडा मोटरेबल पुल नहुँदा वर्षमा झण्डै चार महिना सडक सम्पर्कबाट विच्छेद हुँदै आएका थिए । आलम्पू अल्पसंख्यक थामी समुदायको बसोबास रहेको मुख्य गाउँ पनि हो । मोटरेबल पुल नहुँदा विगु खोलाको बर्खे भेलमा हेलिएर स्वास्थ्य सेवा लिन जानुपर्ने वाध्यतामा रहेका स्थानीयले अब त्यसबाट मुक्ति मिलेको बताए ।
