मंगलबार आयोजित महानगरको १८ औं नगरसभामा उपमेयर चित्रसेन अधिकारीले पुँजीगत तर्फ विनियोजित २ अर्ब ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँमध्ये अहिलेसम्म २८ करोड ५१ लाख ३१ हजार रुपैयाँ मात्र खर्च भएको बताए ।
What you should know
चितवन — भतरपुर महानगरले चालु आर्थिक वर्षको यो अवधिमा पुँजीगत खर्च ११ प्रतिशत मात्रै पुगेकाे छ ।
मंगलबार आयोजित महानगरको १८ औं नगरसभामा उपमेयर चित्रसेन अधिकारीले पुँजीगत तर्फ विनियोजन भएकाे २ अर्ब ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँमध्ये अहिलेसम्म २८ करोड ५१ लाख ३१ हजार रुपैयाँ मात्र खर्च भएको बताए ।
महानगरले चालु तर्फ २९ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ३७ प्रतिशत प्रगति भएको पनि उनले बताए । हालसम्म ६१ करोड ९ लाख २२ हजार रुपैयाँ आन्तरिक स्रोत जुटेको उनले जानकारी दिए ।
नगरसभामा पूरक बजेट वक्तब्य बाचन गर्दै उपमेयर अधिकारीले पुरक अनुमानका उद्देश्यहरुमा जेनजी आन्दोलनबाट भएको क्षतिको पुनःनिर्माण गर्नुका साथै आन्दोलनबाट स्थापित एजेण्डा र मान्यता अनुकुल सेवा प्रवाहको वातावरण बनाउने रहेको बताए ।
जेनजी आन्दोलनका भदौ २४ मा प्रर्दशनीकारीको आगजनीबाट महानगरपालिकाको प्रशासकीय भवनमा प्रयोगनै गर्न नमिल्ने गरी क्षति भएको भएको थियो । महानगरले मंगलबार १८ औं नगरसभा निर्माणधीन नयाँ प्रशासकीय भवनको सभा हलमा राखेको हो ।
नगरसभामा जेनजी आन्दोलनका बारेमा टिप्पणी गर्नुका साथै आन्दोलनपछि परेका प्रभावका बारेमा चर्चा समेत भए । ‘भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र सुशासनको पक्षमा सुरु भएको आन्दोलनको पहिलो दिन धेरै बालबालिकाहरुको निधन भयो’ नगरसभामा मेयर रेनु दाहालले प्रस्तुत गरेको वक्तव्यमा छ ।
त्यसको दोस्रो दिन भदौ २४ गते आन्दोलनमा आपराधिक स्वार्थ समूहहरुको घुसपैठ समेत भएको मेयर दाहालको टिप्पणी छ । ‘जसले गर्दा देशका महत्वपूर्ण सम्पदा तथा पूर्वाधार, व्यक्तिका घर, उद्योग, व्यवसाय, राजनैतिक दलका कार्यालय, दलका नेताहरुको घर र सरकारी र सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको’ दाहालको वक्तव्यमा उल्लेख छ ।
जेनजी प्रदर्शनका क्रममा महानगरका सम्पूर्ण संरचनामा तोडफोड भएको, कार्यालयका अभिलेख जलाएर खरानी बनाएको र तीन वटा भवन मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन नमिल्ने गरेर जलेको मेयर दाहालले नगरसभामा जानकारी गराइन् । साना, मभौला र ठूला गरी ४७ वटा गाडी जलेर पूर्णरुपमा क्षति भएको पनि उनले बताइन् ।
तोडफोड तथा आगजनीले महानगरको ४९ करोड रुपैयाँ बराबरको क्षति भएको मेयर दाहालले नगरसभामा सुनाइन् । क्षतिग्रस्त संरचना निर्माणका लागि उपमेयर अधिकारीको संयोजकत्वमा गठन भएको पुन निर्माण आवश्यकता पहिचान कार्यदलबाट सिफारिस भए अनुसार वडा र नगर स्तरीय योजनाबाट कटौती गरी १७ करोड ११ लाख रुपैयाँ महानगरले जुटाएको छ ।
महानगरको मुख्य तथा गौरवका आयोजनाका रुपमा रहेको महानगरपालिकाको प्रशासकीय भवन निर्माणको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति पूरा भएको पनि मेयर दाहालले जानकारी दिइन् ।
५३ करोड ३२ लाख रुपैयाँमा बन्न लागेको सो भवनकै सभा हलमा यो पटक नगरसभा भएको हो । गौतम बुद्ध क्रिकेट रंगशालाको भौतिक प्रगति ४२ प्रतिशत भएको पनि मेयर दाहालले बताइन् ।
