कान्तिपुरकर्मी पौड्यालसहित पाँच जना सम्मानित

बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित कर्भडहलमा आइतबार आयोजित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभामा उनीहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको हो ।

पुस ६, २०८२

अनिश तिवारी

सिन्धुपाल्चोक — कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्यालसहित पर्यटन, कफी र व्यापारिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना व्यवसायीलाई सम्मान गरिएको छ । 

बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित कर्भडहलमा आइतबार आयोजित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभामा उनीहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको हो । सम्मानित हुनेहरूमा कान्तिपुरकर्मी पौड्यालसँगै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी राजकुमार बस्नेत, सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, कफी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापा र व्यवसायी सुजित बस्नेत रहेका छन् । उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिले सम्मान गरेका हुन् । 


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व तथा वर्तमान पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

संघका अध्यक्ष बुद्धराज बस्नेतले पत्रकारिता, व्यापार, पर्यटन र कृषिजस्ता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका व्यक्तिहरूलाई कदरस्वरूप सम्मान गरिएको बताए । 'उद्योग, समाजका लागि आफ्नो स्थानबाट योगदान दिइरहनुभएका महत्त्वपूर्ण व्यक्तिलाई सम्मान गरिएको हो,' बस्नेतले भने ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully