८/९ सय किसान संलग्न रहेको कुखुरापालन व्यवसायमा कोरोनापछि संलग्नको संख्या घट्दै गएर अहिले १६० हाराहारीमा झरेको छ । अहिले नेपालभर ५५ लाख हाराहारी लेयर्स कुखुरा पालेर दैनिक ३८ देखि ४० लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको छ ।
What you should know
चितवन — त्रिलोचन कँडेलले चितवनमा ३० वर्षअघि कुखुरापालन सुरु गर्दा ६ सय कुखुरा राखेका थिए । अण्डा दिने लेयर्स कुखुरा ६ सय पाल्नु त्योबेला ठूलै काम मानिन्थ्यो ।
‘मलाई ठूलो व्यापार आँट्नु भएको रहेछ । पार्टनर कति छन् भनेर सोध्थें,’ नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका कँडेलले भने । अहिले उनको फार्ममा अण्डा दिने ५० हजार लेयर्स कुखुरा छन् ।
अहिले यो संख्या पनि सानो हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का राजेन्द्र लामिछानेले तीन ठाउँमा फार्म राखेर तीन लाख लेयर्स कुखुरा पाल्दै आएका छन् । यो संख्या पनि सानो भइसक्यो । नेपालमा ५/६ लाख लेयर्स कुखुरा पाल्ने फर्महरु रहेको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बताए । उनले भने, ‘एक लाखमाथि ५/६ लाखसम्म लेयर्स कुखुरा पाल्ने फार्म २० वटा छन् ।’
तर कुखुरापालन क्षेत्रको अर्को फरक पाटो पनि छ । ६ वर्षअघि नेपालमा लेयर्स कुखुरा पाल्नेहरु आठ सयको हाराहारीमा थिए । ‘त्योबेलाको तुलना गर्ने हो भने ६० प्रतिशत किसान विस्थापित भए,’ कँडेलले भने । किसान हृवात्तै घट्दा उत्पादन प्रभावित भएको छ । तर उत्पादन घटे पनि निरास हुनुपर्ने अवस्था नरहेको कुखुरापालनमा संलग्नहरु बताउँछन् ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल ६ वर्षअघि ७५ देखि ८० लाख लेयर्स कुखुरा पालेर दिनमा ५५ लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुने गरेको बताउँछन् । यो कोरोना संक्रमण सुरु हुनुभन्दा पहिलाको तथ्याङ्क हो । ८/९ सय किसान संलग्न रहेको यो व्यवसायमा कोरोनापछि संलग्नको संख्या घट्दै गएर अहिले १६० हाराहारीमा झरेको पोखरेल बताउँछन् । ‘अहिले नेपालभर लेयर्स कुखुरा ५५ लाख हाराहारी होला । दैनिक अण्डा उत्पादन ३८ देखि ४० लाख गोटासम्म हुने गरेको छ,’ पोखरेलले भने ।
कोरोनापछि वर्षको २० प्रतिशतका हिसाबले लेयर्स कुखुरापालकहरु व्यवसायबाट बिस्थापित भएको पोखरेलको अनुमान छ । कोरोनाको समयमा उत्पादन बिक्री नहुँदा व्यवसायी मारमा परेका थिए । त्यसपछि दाना, चल्ला सबैको मूल्य बढ्यो । ‘अप्ठ्यारा थपिदै गए । बैंकबाट ऋण लिएर यो क्षेत्रमा लागेकाहरु ब्याजको बोझमा परे । व्यवसाय बन्द भएर जग्गा लिलामीमा निस्किए । तीन वर्षयता १५० मा झरेको किसानको संख्या त्यसपछि पनि खासै घटबढ भएको छैन,’ लामिछानेले भने ।
कुनैबेला ‘एक घर एक पोल्ट्री’ जस्तै देखिने गरेकोमा अहिले अवस्था परिवर्तन भएको कँडेल बताउँछन् । ‘मेरो फार्ममा अहिले ५० हजार लेयर्स कुखुरा छन् । तर कुनैबेला एक लाख थिए,’ कँडेलले भने । ५/६ वर्षअघि उच्च बिन्दुमा पुगेको अण्डा उत्पादन क्रमश घट्दै गयो । अहिले माग र उत्पादन ठीक ठाउँमा आइपुगेको उनले बताए । साना व्यवसायी विस्थापित भएपछि एउटै फार्ममा धेरै संख्यामा कुखुरा पाल्नेहरु बढेको उनले बताए ।
‘घरघरमा कुखुरा पालेर अण्डा बेच्ने निर्वाहमुखी अवस्थाबाट अब उद्योग स्तरमा फड्को मारेको छ । व्यवसायीहरु थोरै छन् तर धेरै कुखुरा पाल्न थाले । यसले गर्दा उत्पादन र मागको सन्तुलन मिलेको हो,’ कँडेलले भने । उनले दाना उद्योग, चल्ला उत्पादन र फार्ममा नयाँ प्रविधि आएका कारण उत्पादनको गुणस्तर पनि बढेको बताए ।
अचेल १० हजार कुखुरा पाल्नेहरु पनि साह्रै थोरै भेटिन थालेको कँडेलको भनाइ छ । लेयर्स पाल्नेहरुले कम्तीमा पनि ५० हजार कुखुरा राख्छन् । ‘त्यतिबेलामा चल्ला नबिकेर गाड्नु पर्ने हुन्थ्यो । अण्डाको पनि भाउ थिएन । चाँडै बिग्रने भएका कारण किसानले सस्तोमा कटाउँथे,’ कँडेलले भने ।
लेयर्स कुखुरापालक संघका अध्यक्ष लामिछानेले अण्डाको लागत मूल्य अनुसार बजार भाउ लिन अहिले केही हदसम्म सफल भएको बताउँछन् । ‘विगत तीन वर्षमा हामी भर्चुअल र भौतिक गरी पाँच हजारभन्दा बढी त बैठक नै बस्यौं होला । सरोकारवालासँग यसरी अनेकौं पटक बसेको बैठकको एजेन्डा हुन्थ्यो अण्डाको बजार मूल्य कसरी लिने, भारतीय नाकाबाट हुने अवैध आयात कसरी रोक्ने ?,’ अध्यक्ष पोखरेलले भने ।
कुखुराजन्य उत्पादन बजारसम्म लैजाँदा बीचमा धेरै तह रहने गरेका कारण किसानले लाभ लिन पाएका थिएनन् । त्यो बिक्री चक्रको खराब असरलाई पनि धेरै हदसम्म कम गर्न सकेको पोखरेलले बताए । ‘गत वर्षदेखि अण्डाको बजार मूल्य २५ रुपैयाँ हाराहारी पाउँदै आएका छौं । त्यसअघिका दुई वर्ष २०/२२ रुपैयाँ थियो । उत्पादकले लागत मूल्यको छेउछाउ भाउ पाएका छन्,’ उनले भने ।
नेपाल कुखुरा व्यवसायी मञ्चले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने जानकारी गराएको छ । मञ्चले गठन गरेको विज्ञहरुको टोलीले लागत मूल्य तय गरेको हो । दुई वर्षअघि पनि मञ्चले बनाएको यस्तै समितिले अण्डाको लागत मूल्य प्रतियोटा १६ रुपैयाँ ५६ पैसा तय गरेको थियो । ‘मञ्चले गठन गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुको टोलीले तय गरेको मूल्य हो । सरकारले यसलाई समर्थन गर्छ भन्ने आशा छ,’ मञ्चका अध्यक्ष रघुनाथ भट्टले भने ।
व्यवसायीहरु लागत मूल्यको आधारमा बिक्री मूल्य पाए, क्वारेन्टाइन पोष्टहरुलाई २४ सै घण्टा खुलाएर अवैध आयात नियन्त्रण गरे कुखुरापालन क्षेत्रले धेरै राहत पाउने बताउँछन् । अब कुखुरापालन सम्बन्धी उद्योग माग र आवश्यकताका आधारमा मात्रै खोल्न पाउने नीति बनाउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् । ‘देशमा कति मासु र कति अण्डा आवश्यक हो ? सरकारले यसको लेखाजोखा गरेर त्यहीँ मात्रामा कुखुरापालन व्यवसायसँग सम्बन्धित उद्योग र फार्म खोल्न पाउने हो भने अब किसान विस्थापित हुने अवस्था आउँदैन,’ नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलको भनाइ छ ।
प्रायः कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने भएका कारण बिक्री नहेरी उद्योग मात्र खोल्न नहुने उनले बताए । ‘दानाको कच्चा पदार्थ प्रायः भारतबाट आउँछ । मकै ६० देखि ८० प्रतिशत भारतबाटै आउने हो । भटमास लगभग सबै उतैबाट आउँछ । मेसिन, औजार उतैबाट आउँछ । त्यसैले यहाँको खपत विश्लेषण गरेर मात्रै उद्योग खोल्न पर्यो,’ पोखरेलले भने ।
नपोल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष कँडेल बैंक ब्याजदर अहिले धेरै हदसम्म कम भएको हुँदा प्रविधि आयातमा सहुलियत दिन माग गरे । ‘कुखुरालाई खुवाउने दानाको कच्चा पदार्थ उतैबाट आउँछ । मकै, भटमासमा ५ प्रतिशत र ८ प्रतिशत आयातमा शुल्क तिर्नु परेको छ । पहिला यो तिर्नु पर्दैनथ्यो । यसलाई हटाए दाना प्रतिकिलो ३/४ रुपैयाँ कममा पाइन्छ,’ कँडेलले भने । देशभित्रै मकै र भटमास खेती बढाउँदै लगे उत्पादन लागत कम हुँदै जाने उनले बताए ।
