कवि, समालोचक र विज्ञहरूले चेपाङ र थारु समुदायको मौलिक संस्कृति जोगाउन शिक्षा, स्वास्थ्य र सरकारी लगानीको आवश्यकता औंल्याएका छन् ।
What you should know
चितवन — नेपाल प्रज्ञा प्रतिष्ठानले भरतपुर चितवनका आदिवासी समुदाय चेपाङ र थारुहरुको सांस्कृतिक पक्षका बारेमा छलफल गरेको छ ।
सोही अवसरमा कविताका विषयमा पनि कार्यपत्रहरु प्रस्तुत भएका छन् । प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । चेपाङहरु चितवनको पहाडी भेग र थारुहरु मैदानी क्षेत्रका आदिवासी हुन् ।
चेपाङ संस्कृतिका विषयमा कार्यपत्र पेस गर्दै साहित्य र सामाजिक विषयका अध्ययनकर्ता डीआर पोखरेलले आफ्नै भाषा, रीति रिवाज भएका चेपाङ समुदायमा पछिल्लो समय बाह्य संस्कृतिको प्रभाव बढ्दै गएको बताए । धर्मान्तरणजस्ता विषय चेपाङ समुदायमा बढ्न थालेको उनको भनाइ थियो । विकासका पूर्वाधार खासै नपुगेको चेपाङ बहुल क्षेत्रमा शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा सरकारले लगानी बढाउन उनले अनुरोध गरे ।
आदिवासी थारु समुदायका बारेमा काठमाडौं विश्वविद्यालयका पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट विभागका प्राध्यापक सञ्जय महतो (विद्यावारिधि) ले कार्यपत्र पेस गरेका थिए । थारुहरु संस्कृति, ज्ञान, सीपमा धनी भए पनि पछिल्लो समय उनीहरुको मौलिक पहिचान गुम्ने खतरा बढ्दै गएको महतोले बताए । तराईमा औलो उन्मूलनसँगै पहाडी क्षेत्रबाट बसाइँसराइ बढेपछि थारु संस्कृति ओझेल पर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा आधुनिक नेपाली कविताका स्वरुप र प्रवृत्तिका बारेमा समालोचक तथा त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक लक्ष्मणप्रसाद पौडेलले कार्यपत्र पेस गरेका थिए । त्यसैगरी अंग्रेजी कविताका विषयमा त्रिवि अंग्रेजी केन्द्रीय विभागका पूर्वप्रमुख तथा सूदुरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मराज जोशी र संस्कृत कविताका विषयमा नेपाल संस्कृत विश्वविद्यालयको विन्दबासिनी संस्कृत विद्यापीठ पोखराका पूर्वक्याम्पस प्रमुख जगन्नाथ रेग्मीले कार्यपत्र पेस गरेका थिए ।
