रुखबाट लडेर एक युवकको मृत्यु

३५ वर्षीय सुरेश लामाको रुखबाट लडेर मृत्यु

पुस १, २०८२

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा एक युवकको रुखबाट लडेर मंगलबार मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ स्थित लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको रुखबाट लडेर मृत्यु भएको हो ।

काकाको घरमा बस्दै आएका लामा मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । उपचारका क्रममा हेटौंडा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ रहेको सामुदायिक वनमा रुखको घाँस काट्ने क्रममा लामा करिब ३० फिट तल खसेका थिए ।

यसैगरी, हेटौंडा–१७ चुच्चेखोलामा सोमबार रुखबाट लडेर ४८ वर्षीय राजुप्रसाद चौलागाईं घाइते भएका थिए ।

घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको रानी सामुदायिक वनमा स्याउला काट्न गएका बेला रुखबाट लडेर उनी घाइते भएका हुन् । उनको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully