हेलम्बुमा उत्पादित किवी प्रवर्द्धन गर्न काठमाडौंमा महोत्सव

काठमाडौंको बौद्धस्थित किसान बजारमा आयोजित महोत्सवमा हेलम्बु गाउँपालिका नाकोतेका पाँच जना कृषकले ल्याएको करिब १ हजार ५ सय केजी किवी बिक्रीका लागि राखिएको थियो ।

मंसिर २८, २०८२

अनिश तिवारी

Festival in Kathmandu to promote kiwi produced in Helambu

What you should know

सिन्धुपाल्चोक — हेलम्बुका किसानले उत्पादन गरेको किवीको प्रत्यक्ष बजार खोज्ने प्रयासका रूपमा काठमाडौंमा किवी महोत्सव गरिएकाे छ ।

काठमाडौंको बौद्धस्थित किसान बजारमा शनिबार आयोजित महोत्सवमा हेलम्बु गाउँपालिका नाकोतेका पाँच जना कृषकले ल्याएको करिब १ हजार ५ सय केजी किवी बिक्रीका लागि राखिएको थियो ।

बौद्ध कृषक बजार व्यवस्थापन समिति र जस्ट नेपाल फाउन्डेसनको समन्वयमा आयोजना गरिएको महोत्सवले ग्रामीण किसान र सहरी उपभोक्तालाई सिधै जोड्ने प्रयास गरेको नाकोतेका कृषक वाङ्दी दोर्जे शेर्पाले बताए। 'स्थानीय अर्गानिक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सवमा एकै दिन करिब २ सय केजी किवी बिक्री भयो,' उनले भने । 

हिमाली गाउँ नाकोतेमा १५ रोपनीजग्गामा एक हजारभन्दा बढी किवीका बोट लगाएका शेर्पाका अनुसार किवीसँगै आलु, सिमी, स्कुस, सिताके च्याउ, केरा र कागतीजस्ता उत्पादन पनि बिक्रीका लागि ल्याइएका थिए । 

याे पहललाई हेलम्बु र काठमाडौं बीचको पहिलो प्रत्यक्ष बजार सम्बन्धका रूपमा लिइएको छ । सात रोपनीमा किवी खेती गर्दै आएका कृषक पेमा लामाका अनुसार प्रतिकिलो २२५ रुपैयाँमा किवी बिक्री गरिएको थियो । 'यस प्रकारको बजार व्यवस्थाले किसानलाई उचित मूल्य दिलाउनुका साथै सहरी उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउँछ,' उनले भने, 'यसलाई निरन्तरता दिनु जरुरी छ ।'

परम्परागत रूपमा स्याउ, आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा पछिल्ला वर्षमा किवी खेती भइरहेकाे छ । करिब २ हजार ५ सय मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण हेलम्बु किवी उत्पादनका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । उत्पादन बढ्दैगए पनि बजार पहुँचको अभाव किसानका लागि मुख्य चुनौती रहँदै आएको छ ।

बिचौलियामार्फत कम मूल्यमा बिक्री गर्न बाध्य अवस्थालाई तोड्न यस्ता प्रत्यक्ष बजार पहल प्रभावकारी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार आगामी दिनमा यस पहललाई किसान स्वामित्वको कृषि व्यवसायका रूपमा विस्तार गर्दै नियमित बजार प्रणाली विकास गर्ने योजना छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully