रामेछापका स्थानीय तहको बजेट खर्च सुस्त, विकास बजेट खर्च निराशाजनक

साउनदेखि कात्तिक महिनासम्मको अवधिमा जिल्लाका सबै स्थानीय तहले पुँजीगत (विकास) बजेट मात्र होइन, चालु बजेट खर्चमा पनि अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन् ।

मंसिर २७, २०८२

नवराज श्रेष्ठ

Ramechhap's local budget spending slow, development budget spending disappointing

What you should know

रामेछाप — चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा रामेछापका स्थानीय तहहरूको बजेट खर्च दर सुस्त देखिएको छ ।

साउनदेखि कात्तिक महिनासम्मको अवधिमा जिल्लाका सबै स्थानीय तहले पुँजीगत (विकास) बजेट मात्र होइन, चालु बजेट खर्चमा पनि अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन् ।

जिल्लाको सदरमुकाम रहेको मन्थली नगरपालिकाले पहिलो चौमासिकसम्म एक अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँ बजेटमध्ये जम्मा १६.४४ प्रतिशत अर्थात् १७ करोड २० लाख ९१ हजार ४०२ रुपैयाँ मात्र खर्च गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाका अनुसार चालु तर्फको ७२ करोड १० लाख ७७ हजार रुपैयाँ बजेटमध्ये २३.७९ प्रतिशत अर्थात् १७ करोड १५ लाख ११ हजार खर्च भएको छ । विकास बजेटको अवस्था झनै कमजोर छ । 

३२ करोड ५४ लाख ८६ हजार विकास बजेट रहेकोमा एक प्रतिशतभन्दा पनि कम, अर्थात् १.३३ प्रतिशत ४३ लाख ३२ हजार ६३८ रुपैयाँ मात्र खर्च भएको छ । १४ वटा वडाहरू रहेको मन्थली नगरपालिकामा यसवर्ष १० लाख रुपैयाँभन्दा माथिका ४० वटा र २५ लाखभन्दा माथिका २४ वटा योजनाहरू कार्यान्वयनमा रहेको सापकोटाले बताए ।

मन्थली नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा १५.५५ प्रतिशत जम्मा बजेट खर्च गर्दा १.६५ प्रतिशत पुँजीगत र चालु २१.०९ प्रतिशत बजेट खर्च गरेको थियो ।

पहिलो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको बजेट खर्च पनि सुस्त देखिएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँका अनुसार चालुतर्फ विनियोजित ५१ करोड ८३ लाख ३७ हजार ९७० रुपैयाँमध्ये पहिलो चौमासिकमा ११ करोड ३३ लाख ९५ हजार रुपैयाँ मात्र खर्च गरिएको छ । 

जुन जम्मा २१.८७ प्रतिशत हो । नगरको पुँजीगततर्फ खर्चको अवस्था अझै कमजोर छ । ३३ करोड २७ लाख ९ हजार ९ सय रुपैयाँ विनियोजन गरिएकोमा १.७३ प्रतिशत अर्थात् ५७ लाख ६४ हजार ८२४ रुपैयाँ मात्र खर्च भएको चापागाईँले जानकारी दिए ।

उनले भने, ‘पहिलो चौमासिकमा नगरपालिकाको बजेट खर्च कम छ, विशेष गरी विकास बजेट निकै न्यून छ । चाड–पर्व, प्रक्रियागत ढिलाइ लगायतका कारण पुँजीगत काम सुस्त भएको हो । अब योजनाहरू फाइनल भइसकेका छन्, काम धमाधम अघि बढ्दै छ, त्यसैले खर्च दर पनि तीव्र गतिमा बढ्ने अपेक्षा छ ।’

रामेछाप नगरपालिकामा यस वर्ष पूर्वाधार योजनातर्फ मात्रै २ सय ३४ आयोजना रहेका छन् । तीमध्ये पाँच योजना ठेक्कामार्फत सञ्चालनमा अघि बढेका छन् । ६ वटा योजनाका लागि कोटेसन प्रक्रिया पूरा भएको छ भने ५२ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालनका लागि सम्झौता भइसकेको चापागाईँले बताए । पाँच वटा योजना सम्पन्न भई भुक्तानीसमेत गरिसकिएको छ । 

रामेछाप नगरपालिकाले गत आर्थिक वर्षको पहिलो चौमासिकमा जम्मा बजेटको १४.३८ प्रतिशत खर्च गरेको थियो । गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा रामेछाप नगरले चालु तर्फ २०.७७ प्रतिशत र पुँजीगत बजेट १.५३ प्रतिशत खर्च गरेको थियो ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully