इन्द्रसरोवरमा मोतियाविन्दु भएका ५९ जनाको शल्यक्रिया

रोटरी क्लब हेटौंडा, सामुदायिक आँखा अस्पताल हेटौंडा र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा स्थानीयले उपचार गराएका छन् ।

मंसिर २०, २०८२

प्रताप विष्ट

59 cataract patients undergo surgery at Indrasarovar

हेटौंडा — इन्द्रसरोवर गाउँपालिका–२ भालुखर्कका सानुकान्छा स्याङ्तान दुई वर्षदेखि हिँडडुल गर्न सक्दैनथे । मोतियाविन्दुका दुवै आँखा ढाकिएपछि घर भित्र–बाहिर गर्न १५ वर्षीया नातिनीले सहयोग गर्दै आएकी थिइन्।

नि:शुल्क आँखा शिविरमा आफ्ना दुवै आँखाको शल्यक्रिया भएपछि ८१ वर्षीय स्याङ्तान दंग छन् ।

इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित आँखा शिविरमा परीक्षण गराउन उनी तीन दिनअघि नातिनीको सहयोगमा आएका थिए । शल्यक्रियाका लागि बोलाएपछि उनी शनिबार कुलेखानीको खानीखेतमा आयोजित शिविरमा उपस्थित भए ।

रोटरी क्लब हेटौंडा, सामुदायिक आँखा अस्पताल हेटौंडा र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त आयोजनामा पाँच दिनदेखि सञ्चालित निःशुल्क आँखा शिविरमा सानुकान्छासहित ६७ जना मोतियाविन्दुका रोगी फेला परे । 

पाँच स्थानमा गरिएको आँखा शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएको थियो। दुवै आँखा मोतियाविन्दुले ढाकेर हिँडडुल गर्न नै समस्या भएका सानुकान्छासहित ५९ जनाको भने शल्यक्रिया गरियो । सामुदायिक आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. सुनिल थकालीसहित स्वास्थ्यकर्मीको टोलीले मोतियाविन्दुका रोगीको शल्यक्रिया गरेको हो ।

शल्यक्रिया गरेर आँखामा पट्टी लगाइएका बिरामीको पट्टी आइतबार खोलिने सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully