व्हिलचेयरमै बसेर दुई युवाको साहसिक 'बन्जी जम्प'

३६ वर्षीय दिलिप सापकोटा र २५ वर्षीय शिशिर दाहालले नेपालमा अपांगतामैत्री साहसिक पर्यटनको आवश्यकतामा जोड दिएका छन् ।

मंसिर १९, २०८२

अनिश तिवारी

Two young men in wheelchairs perform 'bungee jump' adventure

What you should know

सिन्धुपाल्चोक — सामान्य शरीर भएकाहरू मात्रै साहसिक खेलमा सहभागी हुन सक्छन् भन्ने सोचलाई चिर्दै अपांगता भएका दुई युवाले जिल्लामै पहिलोपटक व्हिलचेयरमै बसेर बन्जी जम्प गरेका छन् ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका चौताराका ३६ वर्षीय दिलिप सापकोटा र सिन्धुलीका २५ वर्षीय शिशिर दाहालले बुधबार ह्विलचियरमा बसेर बन्जी गरेका हुन् । एसियाकै तेस्रो प्राकृतिक साहसिक खेल मानिने नयाँ पुलमा हुने एड्भेन्चर ‘बन्जी’ मा सापकोटा र दाहालले 'मृत्युलाई जितेजस्तै' भएको अनुभव गरे ।

भोटेकोशी गाउँपालिकाको मार्मिङ र लिस्तीकोटबीचको एक सय ६० मिटर उचाइमा उनीहरुले बन्जी गरेका हुन् । १३ वर्षदेखि 'ट्रान्सभर्स मिलिटिस' का कारण घाँटीदेखि तलको भाग नचल्ने अवस्थामा जीवित रहेका सापकोटा यसअघि पनि प्याराग्लाइडिङ, बिनाव्हिलचेयर स्विङ, बिनाव्हिलचेयर बन्जी र व्हिलचेयरमै बस्दै जिपलाइन जस्ता कठिन गतिविधि गर्दै आएका छन्।

'मेरो उद्देश्य व्यक्तिगत साहस देखाउनु मात्र होन, नेपालमा पहुँचयुक्त पर्यटन विकास होस्,' सापकोटा भन्छन्, 'हामीजस्ता अपांगता भएका व्यक्तिले पनि हाइकिङ, ट्रेकिङ र एडभेन्चर गतिविधिमा समान सहभागिता पाउनुपर्छ भन्ने सन्देश दिन चाहन्छु।' सापकोटा हाल सामाजिक सञ्जालमार्फत अभिव्यक्ति उत्पादनदेखि ग्राफिक्स डिजाइनिङसम्मका काम गर्छन्।

Two young men in wheelchairs perform 'bungee jump' adventure

दाहाल भने  ४ वर्षअघि मोटरसाइकल दुर्घटनामा परेका थिए । मेरुदण्ड पक्षघात भएका उनी सिन्धुली, कमलामाई–९ का हुन् । अहिले कृषि उद्यम तथा नर्सरी व्यवसायमा उनी सक्रिय छन् । 'अपांगता भएपछि जीवन रोकिँदैन भन्ने देखाउन चाहन्थेँ,' दाहाल भन्छन्, 'दिलिप दाइले बनाइदिएको बाटोले मलाई थप आत्मबल दियो।'

‘पहुँचयुक्त पर्यटन’ को माग

दुवै जनाले बन्जी प्लेटफर्ममा विशेष सुरक्षा मोडिफिकेसनसहित जम्प गरेका थिए। उनीहरूले आफ्नो सहभागिताले नेपालमा अपांगता–मैत्री साहसिक पर्यटनको आवश्यकता झनै प्रस्ट भएको बताए ।

सापकोटा भन्छन्, 'हाम्रो अनुभव अरू धेरै व्हिलचेयर प्रयोगकर्ताका लागि प्रेरणा बन्नेछ। नेपालले अब साहसिक खेललाई सबैका लागि उपलब्ध गराउने व्यवस्था विकास गर्नैपर्छ,' दाहालले थपे, 'तयारी, समन्वय र सुरक्षित व्यवस्थापन भए अपांगता भएकाले केही नहुने होइन। समाज र संरचनाले अवसर दिन सके हामी पनि उस्तै सक्षम छौं ।'

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully