पुरानो भवन र खेलकुद मैदान मासेर सुरु गरिएको सभाहलको निर्माण १५ प्रतिशत काम पूरा भइसकेको छ ।
What you should know
रामेछाप — जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा पाँच करोडभन्दा बढी लगानीमा आधुनिक र सुविधा सम्पन्न सभा हल निर्माण कार्य भइरहेको छ ।
हल बन्न थालेपछि जिल्लामा ठूला र व्यवस्थित सभा हलको अभावले सभा–सम्मेलन सञ्चालनमा चुनौती नहुने अपेक्षा गरिएको छ। पुरानो भवन तथा खेलकुद मैदान मासेर केही महिनाअघि सुरु गरिएको सभाहलको निर्माण करिब १५ प्रतिशत काम पूरा भइसकेको निर्माण कम्पनीले जनाएको छ।
अन्डरग्राउन्ड पार्किङसहित ७.१५ मिटर उचाइमा निर्माण हुने सभा हलमा एकै पटक ५०० जना अट्न सक्ने क्षमता रहनेछ।
सभा हल निर्माणका लागि २०८२ असार १३ गते सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख श्यामचन्द्र बुढाथोकीले बताए। उनका अनुसार भ्याटसहित ८ करोड २६ लाख ४८ हजार ७३६ रुपैयाँ लागत अनुमान गरिए पनि डिएस–एसआर बिल्डर्स योजन जेभीले भ्याटसहित ५ करोड ४१ लाख २५ हजार १८१ रुपैयाँमा ठेक्का पारेको हो। निर्माण कार्य २०८३ पुस १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले मन्थलीमा व्यवस्थित सभा हलको अभावले बारम्बार समस्या आइरहेकाले निर्माण भइरहेको यो नयाँ हल जिल्लाका लागि महत्त्वपूर्ण भएको बताए। ‘मन्थलीमा ठूला सभा–सम्मेलनका लागि सुविधा सम्पन्न हल छैन। तीनलाल पार्कमा सभा हल भए पनि बजारभन्दा टाढा छ, क्षमता पनि पर्याप्त छैन। नयाँ सभा हल आवश्यकताको सही समयमा सुरु भएको हो,’ उनले भने ।
थापाका अनुसार अन्डरग्राउन्ड पार्किङ, पाँच सय सिट क्षमता, आधुनिक संरचनाका कारण यो भवन जिल्लाकै ठूला र व्यवस्थित सभा हलका रूपमा स्थापित हुनेछ।
