ड्याम खोल्दा शव बगेपछि विवाद : सहमति नजुटेपछि पीडितद्वारा नहर बन्द, विद्युत् उत्पादन ठप्प

घटनापछि आक्रोशित स्थानीयले केन्द्रको नहरमा पठाइने पानी खोलातर्फ फर्काइदिएका छन्। नहर बन्द भएपछि १० दशमलव ०५ मेगावाट क्षमताको विद्युत् उत्पादन बिहान ११ बजेदेखि बन्द भएको छ।

मंसिर १५, २०८२

अनिश तिवारी

Controversy after bodies washed away during dam opening: Victims close canal after failure to reach agreement, electricity production halted

What you should know

सिन्धुपाल्चोक — सिन्धु जलविद्युत् वितरण केन्द्र, लामोसाँघुस्थित ड्याम आइतबार दिउँसो पूर्व सूचना बिना आकस्मिक रूपमा खोलिँदा अन्त्येष्टिको तयारीमा राखिएको शव बगेपछि स्थानीय आक्रोसित बनेका छन्।

घटनापछि आक्रोशित स्थानीयले केन्द्रको नहरमा पठाइने पानी खोलातर्फ फर्काइदिएका छन्। नहर बन्द भएपछि १० दशमलव ०५ मेगावाट क्षमताको विद्युत् उत्पादन बिहान ११ बजेदेखि बन्द छ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ का अगुवा विश्व विक्रम बोहराका अनुसार लिखित सहमति नआएसम्म नहरमा पानी नहाल्ने स्थानीयको साझा निर्णयका कारण उत्पादन रोकिएको हो । रत्नबहादुर बोहराको निधनपछि बाल्का घाटमा मलामीहरूले चिता तयार पारिरहेका बेला ड्याम खोल्दा आएको एक्कासि भेलले चिता र शव दुवै बगाएको थियो ।

भेल आएपछि मलामीहरू ज्यान बचाउँदै किनारातर्फ भाग्न बाध्य भएका थिए । शव दुई पटक बगाए पनि स्थानीयले खोजी गरी अन्तिम संस्कार गरेका थिए। घटनापछि पीडित पक्ष र स्थानीयले जलविद्युत् केन्द्रमाथि वर्षौँदेखि लापरबाही दोहोर्‍याउँदै आएको आरोप लगाउँदै आएका छन् ।

पूर्व सूचना बिना पटक–पटक ड्याम खोलिनु, अनियन्त्रित रूपमा पानी नहर तथा बस्ती क्षेत्रमा छोडिनु, खेतीपाती तथा संरचनामा निरन्तर क्षति पुगिरहनु र विगतका प्रतिबद्धता कार्यान्वयन नहुनुजस्ता समस्या लगातार दोहोरिएको उनीहरूको गुनासो छ । नहर कटानका कारण निर्माणाधीन संरचना दुई पटकसम्म बगेको र करिब १०० मिटरभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन्।

आइतबार स्थानीय र जलविद्युत् केन्द्रका प्रशासन शाखाका प्रतिनिधि गुणाकर लामिछानेबीच लामो छलफल भए पनि लिखित सहमति नजुटेपछि विवाद झनै बढेको हो । स्थानीयले पूर्व सूचना बिना ड्याम नखोल्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने, अनियन्त्रित पानी र फोहोरले घाट, चिहानघाट र बस्तीमा क्षति नपुर्‍याउने सुनिश्चितता गर्ने, विगतका क्षतिपूर्ति र क्षतिको न्यायसंगत टुंगो लगाउने, तटबन्ध–पर्खालजस्ता स्थायी संरचना निर्माण गर्ने तथा निर्माणाधीन टोल सडक र नहरका सामग्री समयमै उपलब्ध गराउने माग अघि सारेका छन् ।

ड्याम सञ्चालनमा समन्वय, नियमित सूचना प्रवाह र आपतकालीन चेतावनी प्रणाली तत्काल अनिवार्य गर्नुपर्ने स्थानीयको जोड रहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए । ‘घटनाबारे जलविद्युत् पक्षले औपचारिक प्रतिक्रिया नदिएको भन्दै स्थानीयले सहमति नजुटे आन्दोलन तथा तालाबन्दीसम्मका कार्यक्रम तीव्र बनाउने चेतावनी दिएका छन्,’ उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully