खाजा खर्च कटाएर विपन्न विद्यार्थीलाई छात्रवृत्ति

विद्यालयमै शुक्रबार आयोजित कार्यक्रममा उक्त ब्याचका सदस्यहरूले ८ जना छात्रछात्रालाई नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

मंसिर १३, २०८२

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित शारदा माध्यमिक विद्यालयका अभिभावकविहीन, बाढीपहिरोपीडित तथा विपन्न विद्यार्थीलाई त्यसै विद्यालयबाट २०६१ सालमा एसएलसी उत्तीर्ण ब्याचले नगद छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयमै शुक्रबार आयोजित कार्यक्रममा उक्त ब्याचका सदस्यहरूले ८ जना छात्रछात्रालाई नगद सहयोग हस्तान्तरण गरेका हुन् । समूहका अध्यक्ष सन्तोष बोहरा भन्छन्, 'हामीले दस वर्षदेखि खाजा तथा अन्य फजुल खर्च कटाएर रकम बचत गर्दै बर्सेनि ५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएका छौँ ।' उनका अनुसार आगामी वर्षहरूमा पनि यो अभियानलाई थप व्यवस्थित बनाइनेछ ।

विद्यालयका प्रधानाध्यापक निलप्रसाद सुवेदीका अनुसार पूर्वविद्यार्थीहरूको निरन्तर सहयोगले विपन्न परिवारका विद्यार्थी शैक्षिक गतिविधिप्रति अझै उत्साहित बनेका छन् । 'विद्यार्थीको पिँध कमजोर भए पनि यस्तो सहयोगले उनीहरूलाई पढाइमा टिकाइराख्न ठूलो मद्दत पुर्‍याउँछ,' सुवेदीले भने । 

कक्षा ७ मा अध्ययनरत रेश्मा तामाङले छात्रवृत्तिले आफूलाई थप मिहिनेत गर्न प्रेरणा मिलेको बताइन् । समूहका सदस्य नवीन श्रेष्ठका अनुसार ब्याचले विद्यालयका छात्रछात्रलाई मात्र होइन, बाह्रबिसेकी क्यान्सर पीडित अमृता भण्डारी, फोक्सो क्यान्सरग्रस्त नारायण श्रेष्ठलगायत गम्भीर रोग उपचार अभावमा रहेका स्थानीयहरूलाई पनि व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग जुटाउँदै आएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully