ब्रह्मायणी जलविद्युत् आयोजनाविरुद्ध जुगलवासी आन्दोलित, निर्माणस्थलमा तालाबन्दी

आफ्ना माग पूरा नभएको भन्दै स्थानीयले बुधबारदेखि निर्माणस्थलमा ताला लगाउँदै आयोजनासम्बन्धी सबै गतिविधि अनिश्चितकालका लागि रोक लगाएका हुन् ।

मंसिर १२, २०८२

अनिश तिवारी

Residents of Jugal protest against Brahmayani Hydropower Project, lock down construction site

What you should know

सिन्धुपाल्चोक — जिल्लाको दुर्गम भेगमा पर्ने जुगल गाउँपालिका–३ का दीपु, तेगा, तेम्बाथान र वडा नं. २ का स्थानीय आफ्नो माग बेवास्ता गरिएको भन्दै ब्रह्मायणी जलविद्युत् आयोजनाविरुद्ध आन्दोलित बनेका छन् ।

जुगल-३ का अगुवा साइँला शेर्पाका अनुसार प्रभावित स्थानीयले बुधबारदेखि निर्माणस्थलमा ताला लगाउँदै आयोजनासम्बन्धी सबै गतिविधि अनिश्चितकालका लागि रोक लगाएका हुन् । दीपु–तेगा–तेम्बाथान ब्रम्हायणी खोला जलविद्युत् आयोजनापीडित संघर्ष समितिको नेतृत्वमा सुरु भएको आन्दोलनले आयोजना क्षेत्रका सुरुङ, सडक, संरचना, पुल–पुलेसा, उपकरण र सवारी–साधनको आवाजाउ समेत ठप्प पारेको छ ।

'समितिले मंसिर ३ मा कम्पनीको केन्द्रीय कार्यालयमा १९ बुँदे माग बुझाउँदै सात दिनभित्र सुनुवाइ गर्न आग्रह गरेको थियो । तर माग सम्बोधन नभएपछि आन्दोलन तीव्र बनाउन र तालाबन्दी गर्न बाध्य बनेका हौं,' शेर्पाले भने । 

संघर्ष समितिका अध्यक्ष निम तार्के शेर्पाले कम्पनीले स्थानीय अधिकार, वातावरणीय जोखिम र जनस्वास्थ्यजस्ता विषय बेवास्ता गर्दै मनोमानी ढंगले काम अघि बढाएको बताए । 'हामी विकासविरोधी होइनौं, तर आयोजनाले छलफलबाट निर्णय र निष्कर्ष निकाल्नुको बदलामा सुरक्षाकर्मी र प्रशासन प्रयोग गरेर दमन गर्न खोजेको छ,' उनले भने ।

आयोजना क्षेत्रका जल, जमिन, जंगल, जीवजन्तु र जडीबुटी आफूहरुको पुर्ख्यौली सम्पत्ति रहेको स्थानीयवासीको दाबी छ ।  कम्पनीले वातावरणीय प्रभाव, जनस्वास्थ्य, क्षतिपूर्ति, रोजगारी, बसोबास सुरक्षा र संरक्षणका मापदण्डलाई बेवास्ता गरेको उनीहरुको आरोप छ । अवैध क्रसर सञ्चालन, अव्यवस्थित सडक विस्तार, कानुनविपरीत विस्फोटक पदार्थको प्रयोग र जग्गा–खर्कमा अनधिकृत अतिक्रमणबाट बस्ती र जमिन जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयका १९ बुँदे मागमा अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने, अतिक्रमण गरी बनेका संरचना हटाई क्षतिपूर्ति उपलब्ध गराउने, सडक तथा संरचनाको दीर्घकालीन सुरक्षाका लागि ग्याभिन वाल, मक्की पर्खाल निर्माण, आयोजना ठेक्का र काममा स्थानीयलाई प्राथामिकता दिनुपर्ने लगायत छन् । प्रभावितलाई १० प्रतिशत निःशुल्क सेयर वितरण, बस्ती संरक्षण तथा तटबन्ध निर्माण, विद्यालय, स्वास्थ्य इकाइ, घ्याङ (गुम्बा) मा आवश्यक संरचना निर्माण, चौरी चरन क्षेत्र पुनर्निर्माण र विद्युत् महसुलको निश्चित अंश स्थानीयले पाउने सुनिश्चिततासहित सम्झौता जस्ता माग छन् ।

हालका मागलाई समेटेर यसअघि आयोजनाले गाउँपालिकासँग सम्झौता गरिएको कागजमा सामाजिक उत्तरदायित्व र प्रभाविका लागि आवश्यक पूर्वाधार रहेको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । 'यसअघि प्रभावितकै पक्षमा आयोजना र गाउँपालिकासँग सम्झौता भइसकेको छ, आहिले पनि आयोजना र प्रभावित स्थानीयलाई सहमती र छलफलका लागि ल्याउन आवश्यक समन्वय गरिरहेका छौं,' स्याङ्बोले भने ।

यसबारे जलविद्युत् कम्पनीका अध्यक्ष भरत पराजुलीले प्रारम्भिक चरणमा रहेको आयोजनाले यसअघि पालिकासँग सहमति गरेको भए पनि स्थानीयले अनावश्यक तालाबन्दी गरेर अवरोध गरेको आरोप लगाए । 'यसअघि यही तेम्बाथानमा करिब २८ करोड खर्चेर सडक छिचोलेका थियौं, सामाजिक उत्तरदायित्वका काम गरिरहेका छौं, स्वास्थ्य संस्था, शिक्षामा आयोजनाबाट हरसम्भव काम गरिरहेका छौं, फेरि आयोजनासँग यस्तो अपराधीझैं व्यवहार किन ?' उनले भने । स्थानीयका मागमा अत्यावश्यक सबै काम केही गरेको र केही गर्ने चरणमा रहेको उनले दाबी गरे ।

९ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाको ५.५ किलोमिटर सुरुङ निर्माण गरेर ब्रह्मायणी नदीको पानी लगी ३ वर्षभित्र सक्ने लक्ष्य थियो ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully