पश्चिम रामेछापलाई बीपी राजमार्गसँग जोड्ने खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडान हुने

गएको वर्ष असोज दोस्रो साता सुनकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल पूर्ण रूपमा बगाएको थियो ।

मंसिर ११, २०८२

नवराज श्रेष्ठ

Bailey bridge to be installed on Khairenighat-Dumja bridge connecting West Ramechhap to BP Highway

What you should know

रामेछाप — पश्चिम रामेछापलाई बीपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने खैरेनीघाट–दुम्जामा बेलिब्रिज जडान हुने भएको छ ।

गएको वर्ष असोज दोस्रो साता सुनकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल पूर्ण रूपमा बगाएको थियो । जसबाट विशेष गरी सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका बासिन्दाले राजधानी काठमाडौँ आवत–जावतमा समस्या झेल्दै आएका छन्। अब बेलिब्रिज जडानको प्रक्रिया अघि बढेसँगै लामो समयदेखि अवरुद्ध यो महत्त्वपूर्ण यातायात मार्ग पुनः सञ्चालन हुने आशा बढेको छ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडाध्यक्ष रामकुमार श्रेष्ठका अनुसार बाढीले बगाएको खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडानका लागि आवश्यक पार्ट्सहरू आइपुग्न थालेका छन्। उनका अनुसार बुधबारसम्म हेटौंडाबाट ४ वटा गाडीमार्फत बेलिब्रिजका पार्ट्स निर्माण स्थलमा आइसकेका छन्।

पुल बगाएपछि दैनिक सेवा–सुविधा, बजार आपूर्ति र आपतकालीन यात्रामा समस्या भएपछि स्थानीयले लामो समयदेखि पुल पुनर्निर्माणको माग गरिरहेका थिए। अब सामाग्री स्थलमै पुगेसँगै अन्य पूर्वाधार तयारी पनि अघि बढ्ने उनले जानकारी दिए।

यो पुल जडान भएपछि खाँडादेवी–१ राकाथुम र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ प्रत्यक्ष रूपमा जोडिनेछ। बाढीले बगाएको ६८ मिटर लामो खैरेनीघाट–दुम्जा पुलमा बेलिब्रिज जडानका लागि आवश्यक पार्टस ल्याउने काम सुरु भएको सडक डिभिजन कार्यालय खुर्काेटले जनाएको छ।

Bailey bridge to be installed on Khairenighat-Dumja bridge connecting West Ramechhap to BP Highway

डिभिजन प्रमुख पारसमणि हमालका अनुसार हाल बेलिब्रिजका सबै पार्ट्स स्थलमा ल्याउने काम भइरहेको र अबको एक हप्तापछि जडान कार्य औपचारिक रूपमा सुरु हुनेछ । 'अहिले बेलिब्रिज र त्यसका पार्ट्स ल्याउने काम भइरहेको छ। जडानको काम भने सुरु भएको होइन, पूर्व तयारी प्रक्रियामा छ।अबको एक हप्तापछि बेलिब्रि जडानको काम सुरु हुन्छ,' उनले भने । काम सुरु भएपछि २१ दिनभित्र बेलिब्रिज जडान कार्य सम्पन्न हुने उनको भनाइ छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully