अस्थायी साँघु बनेसँगै च्छो–रोल्पा जाने आउने पर्यटकले डोरीको सहारामा खोला तर्नुपर्ने बाध्यता हटेको छ ।
What you should know
दोलखा — बाढीले स्थायी पुल बगाएपछि च्छो–रोल्पा जाने पदमार्गमा काठका ३ वटा अस्थायी साँघु बनाइएको छ ।गएको वर्षको बाढीले च्छो–रोल्पा जाने रोल्वालिङ पदमार्गका ३ वटा पुल बगाएको हो ।
बाढीले पुल बगाएपछि गौरीशंकर गाउँपालिकाले पुनः अस्थायी काठे साँघु बनाए पनि असोजको बाढीले पुनः क्षतिग्रस्त बनाएर बगाएको थियो ।
बाढीले बगाएको क्षेत्रको रोल्वालिङ पदमार्गअन्तर्गत डोङनाङदेखि माथि ठाङदिङसम्मका ३ वटा साँघु पर्यटकको सहजताका लागि पुनः गाउँपालिकाले बनाएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए । उनका अनुसार हाल बनाएका साँघु पनि अस्थायी हुन् । अस्थायी साँघु बनेसँगै च्छो–रोल्पा जाने आउने पर्यटकले डोरीको सहारामा खोला तर्नुपर्ने बाध्यता हटेको छ ।
‘च्छो–रोल्पा जाने आउने पर्यटकको सहजताका लागि तत्काल ३ वटा अस्थायी साँघु बनाएर सहज बनाएका छौं,’ उनले भने, ‘तर स्थायी रूपमा झोलुङ्गे पुल नबाईकन समस्या समाधान हुँदैन, यसका लागि संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।’
हाल बनाएका काठका साँघु पनि खोलामा बाढी आएमा बगाउन सक्ने उनले बताए । रोल्वालिङ क्षेत्र बाग्मती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य भए पनि पदमार्गका पुल र बाटो बनाउन कतैबाट पहल नभएको उनले गुनासो गरे ।
सिजन सकिनै लागेकाले अधिकांश होटल व्यवसायी जाडो छल्न तल झर्ने क्रम सुरु हुन लागेको छ । बगाएका पुल र बाटो स्थायी रूपमा नबनेसम्म पदमार्गमा समस्या हुने बेदिङका होटल व्यवसायी दावाछिरिङ शेर्पाले बताए ।
‘अस्थायी रूपमा बनाएका साँघुले केही सहज बनेको छ,’ उनले भने, ‘खोलामा बर्सेनि बाढीले अस्थायी साँघु र बाटो बगाउने गरेको छ, जसका कारण पदयात्री र सामान ढुवानीमा समस्या झल्दै आएका छौं ।’
बाढीले क्षति गरेको करिब ३ किलोमिटरमा पदमार्ग र अस्थायी साँघु भएका स्थानमा तत्काल स्थायी संरचना निर्माण गर्नुपर्ने उनले बताए । ५ देखि ७ दिनको पदयात्रा हुने यो पदमार्गमा सिजनमा विदेशी र स्वदेशी पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । गौरीशंकर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा हिमताल र दुधकुण्ड पछिल्लो समय युवा पुस्ताको पदयात्राको रोजाइमा पर्ने क्रम बढ्दो छ ।
