केही वर्षयता मगर गोही, अजिङ्गर र गोमन सर्प जस्ता घस्रने जीवले पनि चितवन निकुञ्ज र खोलाछेउका बस्तीमा दुख दिन थालेका छन् ।
चितवन — निकुञ्ज छेउका बस्तीमा ठूला जंगली जनावर हात्ती, गैंडा, बाघ बस्तीमा आउने समस्या नौलो होइन । बँदेल, चित्तल, बाँदरले खेती खाएर हैरान बनाएकै थिए ।
केही वर्षयता मगर गोही, अजिङ्गर र गोमन सर्प जस्ता घस्रने जीवले पनि निकुञ्ज र खोला छेउका बस्तीमा दुख दिन थालेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय उद्धार गरेका अधिकांश यस्तै घस्रने जीव मात्रै रहेका छन् । निकुञ्जको सिमाना भएर बग्ने राप्ती खोलाआडमै छ विमला बोटेको घर । गत शुक्रबार रातिमा घरमै मगर गोहीसँग उनको जम्काभेट भयो । त्यसयता उनी राम्रोसँग निदाउन पनि सकेकी छैनन् ।
खोलाबाट करिब तीन सय मिटर पर उनको कच्ची घर छ । तीन वर्ष पुग्न लागेकी छोरी र श्रीमान् विशाल बस्ने त्यो छाप्रोमा मगर गोही आयो । ‘नन्दको बिहे थियो । अघिल्लो दिन साँझपख हाम्रो घरदेखि अलि पर रहेको नन्द बस्ने घरमा काम गर्न गयौं । भोलिपल्ट बिहानै आउनुपर्ने भएकाले राति १० बजे हतारिएर सुत्न आयौं,’ विमलाले सुनाइन् । श्रीमान् विशाल गाउँमै ज्यालामजदुरी गर्छन् । त्यो दिन उनी धान, पराल स्याहार्ने काम गर्न गएका थिए । थकानले विशाल निदाइहालेको मेसो विमलाले पाइनन् । तर उनी एउटा आवाजले निदाउन सकेकी थिइनन् । ‘केही घस्रे–खोस्रे जस्तो, कराए जस्तो आवाजले मलाई निन्द्रा नै परेन,’ विमालाले सुनाइन् ।
उनीहरु सुतेको घरको छेउमा दिउँसो बाख्रा बाँध्ने अरु बेला खाना पकाउने सानो छाप्रो थियो । उनले त्यतै केही चलेको अनुमान लगाउँदै हेर्नका लागि मोबाइल बालेर निस्किइन् । ‘राति १२ बजेतिर त्यहाँ मगर गोही देख्दा त मेरो सातो गयो,’ विमलाले भनिन्, ‘सामुन्ने बडेमानको मगर गोही थियो । आत्तिएर के कसो गर्ने भयो ।’
रामेछाप माइती भएकी विमलाले पहिलो पटक यतिनजिकबाट मगर गोही देखेकी थिइन् । त्यहीबेला श्रीमान् विशाल ब्युझिए पछि नेपाल बोटे समाजका जिल्ला अध्यक्ष प्रदीप बोटे र निकुञ्जलाई खबर गरे । गाउँमा गोही पसेको खबर निकुञ्जमा पुग्दा रातको साढे १ बजेको थियो । आधा घण्टामै उद्धार टोली पुगे पनि गोही फुत्केर खोलातिर लाग्यो । ‘सानो बच्चासहित छौं । रातमा सुत्ने ठाउँनजिकै गोही आएको देख्दा को सुत्न सक्छ ? त्यसदिनदेखि मलाई निन्द्रा परेको छैन,’ विमलाले भनिन् ।
विमलाको घरमा जस्तो रातविरात यसरी मगर गोही उद्धार गर्न चितवन निकुञ्जको टोलीलाई अचेल भ्याइनभ्याइ जस्तै भएको छ । चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार गएको साउनदेखि कात्तिकसम्म ४ महिनाको अवधिमा १ सय ९९ वटा जीवजनावरको निकुञ्जले उद्धार गरेको छ । जसमा सर्वाधिक संख्या नै मगर गोहीको छ ।
४ महिनामा १ सय २९ वटा मगर गोहीको उद्धार गरेको सूचना अधिकारी थापा मगरले बताए । मगर गोहीपछि उद्धार गरिएका अन्य जीवमध्ये अजिङ्गरको संख्या बढी छ । निकुञ्जको टोलीले ५२ वटा अजिङ्गरलाई यो अवधिमा उद्धार गरेको छ । त्यसपछि २ वटा राजगोमन र ४ वटा गोमनसहित ९ वटा सर्प र ६ वटा कछुवाको उद्धार भएको छ । बाँदर, चित्तल र अन्य जनावर एक एक छन् । यसरी निकुञ्जले गरेको उद्धारमा सर्वाधिक संख्या घस्रेर हिँड्ने जीवजनावरकै छ ।
चितवन निकुञ्ज वरपर दुई खाले गोही पाइन्छन् । घडियाल गोही निकै दुर्लभ जीव हो । यो निकुञ्ज भएर बग्ने खोला र नदीमा बस्छ । सफा बगेको पानीमा मात्रै बस्ने र माछा खाने घडियाल तुलनात्मक रुपमा शान्त स्वभावको हुन्छ । तर मगर गोहीले अन्य ठूला जनावर पनि खान्छ । मगर गोही खोला, तालतलैया मात्रै नभएर घस्रेर परपर बस्ती र खेतमा पनि पुग्छ ।
खोलामा जम्काभेट हुँदा मगर गोहीले मान्छेकै ज्यान लिएको घटना पनि छ । त्यसैले मगर गोही घरआडमै पुग्दा स्थानीय त्रासमा छन् । ‘खास गरेर मगर गोहीले माछा पोखरी र कुखुराका खोरमा पुगेर माछा–कुखुरा खाने गरेको छ,’ निकुञ्जका सूचना अधिकारी थापा मगरले भने ।
मगर गोही होटलबाट समेत उद्धार गरेको निकुञ्जले जनाएको छ । अजिङ्गर प्रायः कुखुराको खोरबाट उद्धार गरेर ल्याउनु परेको छ । मगर गोहीको उद्धार कठिन हुने निकुञ्जका अधिकारीको अनुभव छ । नदी पोखरीभन्दा २/३ किलोमिटर परसम्म मगर गोही हिँड्दै जाने गरेको भेटिएको छ । ‘उद्धार गर्न राम्रो खाले जाल र सीप आवश्यक छ । त्यसको प्रबन्ध गर्दै छौं । स्थानीय पनि सचेत हुनुपर्ने देखिएको छ । यसको आक्रमण घातक हुन्छ । यसबाट कसरी जोगिने स्थानीयलाई पनि बुझाउनु पर्ने छ,’ संरक्षण अधिकृत थापा मगरले भने ।
