करिब चार दशकपछि परिवार खोज्दै आफ्नो गाउँ फर्किएका बाह्रबिसे नगरपालिका–७, डाँडागाउँका हरिबहादुर खत्रीको आवास निर्माणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
What you should know
सिन्धुपाल्चोक — करिब चार दशकपछि पुर्खा र परिवार खोज्दै आफ्नो गाउँ फर्किएका बाह्रबिसे नगरपालिका–७, डाँडागाउँका हरिबहादुर खत्री (विचारी)को आवास निर्माणका लागि बाह्रबिसे नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतकाअनुसार नगरले यही कात्तिक १६ गते बसेको ९२ औ कार्यपालिकाको बैठकले आर्थिक अभाव झेलिरहेका खत्रीका लागि घर बनाउनमा सहुलियत दिएको हो । परिवारविहीन भएर वर्षौँदेखि भौतारिएका खत्री केही समयअघि मात्र आफ्नो पहिचान र परिवार खोज्दै गाउँ फर्किएका थिए ।
उनीसँग आधारभूत आवास निर्माण गर्ने आर्थिक अवस्था नरहेको कारणले गर्दा नगरपालिकाले सहयोगार्थ बजेट छुट्याएको हो,' मेयर बस्नेतले भने । शुक्रबार मेयर बस्नेत आफौ प्राविधिक टोलीसहित खत्रीको घर निर्माण स्थल पुगेका थिए । नगरपालिकाले घर निर्माणका अतिरिक्त खत्री परिवारलाई जीवनयापन सहज बनाउन खाद्यान्न, लत्ताकपडा, गाडी भाडा, सिरक–डस्ना, ग्यास चुलो, भाँडाकुँडा लगायतका सामग्री उपलब्ध गराएको छ ।
साथै नागरिकता बनाउने प्रक्रिया र ढुवानीको व्यवस्थासमेत नगरले नै समन्वय गरेको मेयर बस्नेतले बताए । यसअघि नगरपालिकाले कृषि तथा साना व्यवसाय सुरु गर्न खत्री परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने र परिवारका एक छोराछोरीलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ ।
बाह्रबिसे नगरपालिकाले जेन-जी सहिद योगबहादुर श्रेष्ठ (श्रीकृष्ण ) को सालिक निर्माणका लागि पाँच लाख, उपचारका लागि आर्थिक सहयोग जुटाइरहेका प्रसिद्ध लोक गायक रेसम थापालाई ५० हजार र अन्य क्यान्सर पीडितलाई ५० हजार बजेट नगरबाट व्यवस्था गरिएको छ ।
बाह्रबिसे नगर मानेश्वरा खपिका राजकुमारी खत्री भण्डारीलाई कृत्रिम खुट्टा हाल्न ५० हजार रुपैयाँ प्रदान गरिएको उनले जानकारी दिए । 'सम्पर्कविहीन, असहाय र जोखिममा रहेका नागरिकलाई सुरक्षित आवासमा ल्याउनु नगरपालिका र समाज दुवैको दायित्व हो, यस्ता नागरिकका लागि सहयोग निरन्तर जारी रहनेछ,' उनले भने।
