कहिले सकिन्छ खासा पुनर्निर्माण?

सिन्धुपाल्चोकका स्थानीयलाई घरायसी खरिद प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा छिर्न अनुमति छ । भूकम्पपछि खासा बजारले पनि ठूलो क्षति व्यहोरेको थियो । तिब्बतको न्यालम जिल्लाअन्तर्गत पर्ने पूर्व–खासा (जाङ्मु पोर्ट) अहिले मिनी सहरको मोडेलमा पुनर्निर्माण हुँदैछ ।

मंसिर ६, २०८२

अनिश तिवारी

सिन्धुपाल्चोक — नेपाल–चीन सीमामा अवस्थित तातोपानी–खासा नाका वर्षौंदेखि देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित छ । भूकम्पअगाडि व्यापार, पर्यटन र आवागमन सहज रूपमा चल्थ्यो ।

तर, २०७२ को भूकम्प र पछिल्लो कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात र मानिसको आवतजावत अझै लगभग ठप्प छ । हाल सीमा छुट्याउने मितेरी पुल नजिकै रहेका करिब दुई दर्जन साना पसलमा पुगेपछि मात्रै सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् । 

सिन्धुपाल्चोकका स्थानीयलाई घरायसी खरिद प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा छिर्न अनुमति छ । भूकम्पपछि खासा बजारले पनि ठूलो क्षति व्यहोरेको थियो । तिब्बतको न्यालम जिल्लाअन्तर्गत पर्ने पूर्व–खासा (जाङ्मु पोर्ट) अहिले मिनी सहरको मोडेलमा पुनर्निर्माण हुँदैछ । 

निजी तथा सरकारी भवन भत्काउनेदेखि सडक विस्तारसम्मका काम तीव्र गतिमा अगाडि बढिरहेका छन् । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाका अनुसार नयाँ जाङ्मु सहरमा सडक तीन मिटरले फराकिलो पार्ने, निजी तथा सरकारी संरचनाहरू छुट्टाछुट्टै स्थानमा निर्माण गर्ने र मालबाहक कन्टेनर तथा भ्यानलाई मुख्य सहरमा प्रवेश नदिन रणनीति बनाइएको छ । 

पहिलाको खासा भन्सारभन्दा मुनिबाट रमिते बजारको तल्लो क्षेत्रमा दुई सय ७० मिटर लामो जाङ्मु पुल बन्दै छ । ‘आहिलेसम्म अनुमानित २० देखि ३० प्रतिशत काम सकिएको छ, काम सुरु गरेको डेढ वर्ष भयो, पुरानै पार्किङ क्षेत्र हुँदै सहरको तलतिर छुट्टै मालबाहक सडक निर्माण भइरहेको छ,’ उनले भने ।


जाङ्मु पुल, नयाँ सडक र व्यापारिक पूर्वाधार तयार गर्न कम्तीमा तीन वर्ष लाग्ने अनुमान छ । यस कारण नेपाली ट्रक–कन्टेनर तत्काल खासा पुग्न नसक्ने स्थिति कायम भएको शेर्पाको भनाइ छ ।

यसैबीच, स्थानीय बासिन्दा र सरकारी कार्यालयहरू न्यालम इलाकाभेगमा सारिएका छन् ।

ट्रान्सपोर्ट कम्पनीहरू भने सीमित रूपमा संञ्चालन भइरहेको नेपाल हिमालय सिमापार वाणिज्य संघका सदस्य व्यवसायी बसन्त नेपालले बताए । ‘चिनले न्युन कन्टेनर छाड्दा नाकाबन्दीकोजस्तै अवस्था छ,२०/२५ कन्टेनर अझै ल्हासातिर रोकिएका छन्, उता खासा पुनर्निर्माणकै चरणमा छ,’ उनले भने ।

खासा खुल्ने आसमा व्यवसायी

चीनको खासा बजार पुग्न नपाउँदा ढुवानी लागत बढ्नु र उपभोक्तामार्फत् बजार मूल्य प्रभावित हुने भएकाले नेपालका व्यापारी संघ–संस्थाले नाका खासासम्म सहज खोलिदिन आग्रह गर्दै आएका छन् । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतकाअनुसार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेडलगायतका संघसंस्थाले यसअघिदेखि तातोपानी भन्सारसँग बैठक गर्दै चीनसँग संवाद अघि बढाउन दबाब दिइरहेका छन् । 

तातोपानी भन्सारकाअनुसार नेपाली पक्षले बारम्बार कुटनीतिक अनुरोध पठाइरहे पनि चिनियाँ पक्षले खासा क्षेत्र पुनर्निर्माणको काम पूरा नभएको जानकारी दिएको छ । ‘सस्तो मूल्यमा सामान ल्याएर उपभोक्ता लाभान्वित भए मात्रै नाका खुल्नु अर्थपूर्ण हुनेछ,’ उनले भने । पुनर्निर्माण जारी रहेका कारण खासामा सवारी–ढुवानी अनिश्चित रहेको छ ।

नेपालले नाका सहज बनाउन कुटनीतिक पहल तीव्र पारे पनि खासा पूर्ण सञ्चालन कहिले सम्भव हुने भन्नेमा दुवै पक्षबाट स्पष्ट संकेत आएको छैन ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully