रामेछापको खाँडादेवीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार दिउँसो रजगाउँबाट मन्थलीतर्फ आउँदै गरेको जिप करिब ५० मिटर तल खस्दा चालकसहित ८ जना घाइते भएका थिए ।

मंसिर ५, २०८२

नवराज श्रेष्ठ

One person dies in jeep accident in Khandadevi, Ramechhap

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँ, माडी मुहानस्थित भित्री सडक खण्डमा शुक्रबार भएको जिप दुर्घटनामा घाइते भएका ८ जनामध्ये एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब ४:३० बजे रजगाउँबाट मन्थलीतर्फ आउँदै गरेको ना.१ ज ५५५८ नम्बरको जिप करिब ५० मिटर तल खस्दा चालकसहित सबै ८ जना घाइते भएका थिए ।

घाइतेमध्ये मन्थली नगरपालिका–३ की ५३ वर्षीया गीतामाया जोगीको मन्थली अस्पतालमा साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख डीएसपी भोला भट्टका अनुसार दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा सबै घाइतेलाई उद्धार गरी मन्थली अस्पताल ल्याइएको थियो ।

दुर्घटनामा मन्थली नगरपालिका–२ तल्लो कठजोरकी ४० वर्षीया कोपिला श्रेष्ठ गम्भीर घाइते भएकी छन् । त्यस्तै, १४ वर्षीया सञ्चिता श्रेष्ठ, मन्थली–३ की ७० वर्षीया तिलमाया श्रेष्ठ, ५० वर्षीया कृष्णमाया खड्का, ५५ वर्षीया कोपिला जोगी, ७८ वर्षीया चेतकुमारी श्रेष्ठ र ४९ वर्षीय चालक रमेश बुढाथोकी घाइते भएका हुन् ।

डीएसपी भट्टका अनुसार ४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइसकिएको छ भने बाँकी ३ जनालाई पनि रेफर गर्ने तयारी भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully