बालमैत्री पालिका घोषणा भइसकेको हेटौंडा उपमहानगरपालिकामा बालश्रम अनुगमन गरिएको थियो ।
What you should know
हेटौंडा — बालश्रममा संलग्न ५ जना बालकलाई हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाबाट उद्धार गरिएको छ ।
अनुगमनको क्रममा विभिन्न व्यवसायिक संस्थाबाट बालश्रममा संलग्न रहेका बालकाहरुलाई उद्धार गरिएको हो ।
बालमैत्री पालिका घोषणा भइसकेको हेटौंडा उपमहानगरपालिकामा बालश्रम अनुगमन गरिएको थियो । हेटौंडाको २, ४, ११ र १९ नम्बर वडामा रहेका मोटरसाइकल वर्कशप, होटल, क्याण्डी उत्पादन कम्पनीलगायतमा अनुगमन गरिएको सिविन बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बताए ।
अनुगमनका क्रममा हेटौंडा–११ मा रहेको अब्दुलाल बडी विल्डर वर्कशपमा सात महिनादेखि कार्यरत १५ वर्षीय बालक, हेटौंडा–४ स्थित समिर मोटरसाइकल वर्कशपमा एक वर्षदेखि कार्यरत १२ र १५ वर्षीय बालक, हेटौंडा–११ मा रहेको उद्योगबाट उत्पादित कटन क्याण्डी हेटौंडा–४ बाट बेच्दै गरेको अवस्थामा १० वर्षीय बालकलाई उद्धार गरिएको छ ।
यसैगरी उपमहाननगर प्रहरीले हेटौंडा–२, कांग्रेसचोकमा रहेको केशरी फर्निचरबाट अन्दाजी १५ वर्षीय बालकलाई उद्धार गरेर श्रम कार्यालय पठाएको कार्यालय प्रमुख रुद्रनारायण शाहले जानकारी दिए । श्रम कार्यालयका प्रमुख शाहका अनुसार बालश्रममा लगाउने रोजगारदाताहरुलाई १ लाख ७० हजार जरिवाना र २२ हजार रुपैयाँ क्षतिपूर्ति तिराइएको छ ।
कटन क्याण्डी उत्पादकलाई ५० हजार, समिर वर्कशपलाई ५० हजार, अब्दुलाल वर्कशपलाई २० हजार र केशरी फर्निचरलाई ५० हजार जरिवाना गराइएको छ । श्रम कार्यालयले बालबालिकाको उमेर समूहअनुसार जरिवाना गराउने गरेको छ ।
बालबालिकाले काम गरेबापत मासिक ३२ हजारका दरले क्षतिपूर्ति दिनुपर्नेछ । उद्धार गरिएका बालकहरुलाई श्रम कार्यालय पठाउने गरिएको सिविन बाल हेल्पलाइनका संयोजक ज्ञवालीले जानकारी दिएका छन् । उद्धार गरिएका बालकहरु चितवन, रौतहट, पर्सा र छिमेकी मुलुक भारतका रहेका छन् । ६ वटा ग्यारेज, ३ वटा होटल र एक किराना पसलमा अनुगमन गरिएको थियो ।
अनुगमनमा श्रम तथा रोजगार कार्यालयकी शर्मिला राई, हेटौंडा उपमहानगरपालिका बाल कल्याण अधिकृत बिना थिङ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दीपककुमार पौडेल, नेपाल प्रहरीका प्रतिनिधिहरु, बाल हेल्पलाइनका कार्यक्रम अधिकृत सम्झना अधिकारीलगायतको सहभागिता रहेको थियो ।
