रामेछापमा ७२ वर्षीया वृद्धाको हत्या गर्ने युवक दोलखाबाट पक्राउ

अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परेर छुटेका दिलीपले सोमबार राति करिब १०:३० बजे धारिलो हतियारले वृद्धा भिमाको हत्या गरेका थिए।

मंसिर २, २०८२

नवराज श्रेष्ठ

Youth arrested from Dolakha for murdering 72-year-old woman in Ramechhap

रामेछाप — रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया भिमा लक्ष्मी खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका युवक पक्राउ परेका छन्।

एक्लै घरमा बस्दै आएकी वृद्धा भिमाको सोमबार राति हत्या गरेर भागेका २६ वर्षीय दिलीप खड्कालाई रामेछापका प्रहरी प्रमुख डीएसपी भोला भट्टको टोलीले दोलखाको मेलुङ गाउँपालिका–७ बाट मंगलबार दिउँसो साढे १२ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार हत्या भएपछि खोजतलास जारी राखिएको थियो। त्यही क्रममा दिलीपलाई हिँडिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी भट्टले जानकारी दिए। उनका अनुसार दिलीपले भिमा लक्ष्मी खड्काको हत्या गरेको स्वीकारसमेत गरेका छन्।

अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परेर छुटेका दिलीपले सोमबार राति करिब १०:३० बजे धारिलो हतियारले वृद्धा भिमाको हत्या गरेका थिए। त्यसपछि राति करिब ११ बजे गाउँमै रगतले लतपतिएको अवस्थामा ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हाल पक्राउ परेका दिलीपमाथि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ भने मृतक भिमाको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा ल्याइएको रामेछाप प्रहरीले जनाएको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully