अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्तिले गरे वृद्धाको हत्या

एक्लै बस्दै आएकी वृद्धाको गएराति हत्या भएको हो ।

मंसिर २, २०८२

नवराज श्रेष्ठ

Man arrested and released on bail for indecent assault and theft murders elderly woman

रामेछाप — रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया भीमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

आफ्नै गाउँ बस्ने २६ वर्षीय दिलिप खड्काले भीमामाथि आक्रमण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

गएराति करिब साढे १० बजे घटना भएकामा राति साढे १२ बजे प्रहरीमा जानकारी आएपछि  प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थल गएको थियो । 

जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली मंगलबार बिहान घटनास्थल पुगेर मुचुल्का सङ्कलन गरेको छ। मृतक भीमाको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए।

उनका अनुसार भीमा एक्लै बस्दै आएकी थिइन् । धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार रहेकाले प्रहरी खोजतलासमा जुटेको तिम्सिनाले बताए। उनी अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ।

करिब राति साढे १० बजे हत्या गरी ११ बजे उनी रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार घटना स्थल प्रहरी चौकी फुलासीदेखि करिब ५ किलोमिटर दक्षिणतर्फ तथा जिल्ला प्रहरी कार्यालय रामेछापबाट करिब ३५ किलोमिटर उत्तर–पश्चिमतर्फ पर्छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully