फ्लुको जोखिम अझै कायमै रहेको भन्दै गाउँपालिकाले अनिवार्य मास्क प्रयोगलगायत आवश्यक स्वास्थ्य सावधानी अपनाएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
रामेछाप — भाइरल फ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि बन्द गरिएको रामेछापको उमाकुण्ड गाउँपालिकास्थित विद्यालयहरू आजदेखि सञ्चालनमा आएका छन्।
विद्यार्थीहरूमा ज्वरो, खोकी तथा रुघाखोकीजस्ता लक्षण देखिँदै गएपछि स्वास्थ्य जोखिम बढेको ठहर गर्दै गाउँपालिकाले कात्तिक २८ देखि ३० सम्म पठनपाठन स्थगित गरेको थियो । केही विद्यालयले २५ देखि नै कक्षा बन्द गरेका थिए।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाका अनुसार आवश्यक स्वास्थ्य सावधानीसहित आजदेखि सबै विद्यालय खुला गरिएको छ। उनले भने, 'भाइरल फ्लु तीव्र रूपमा फैलिन थालेपछि कक्षा रोकिएको थियो। आजदेखि सबै विद्यालय खुलेका छन्, तर विद्यार्थीको उपस्थिति कम देखिएको छ।'
फ्लुको जोखिम अझै कायमै रहेको भन्दै विद्यालयलाई अनिवार्य मास्क प्रयोगलगायत आवश्यक स्वास्थ्य सावधानी अपनाएर कक्षा सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।
गाउँपालिकाको स्वास्थ्य शाखाले तीन दिन घरमै बसेपछि सामान्य प्रकृतिको भाइरल फ्लु सर्छ भन्ने जोखिम न्यून हुने बताउँदै आजदेखि पठनपाठन सुरु गरिएको जानकारी दिएको छ। गम्भीर लक्षण देखिएका पाँच जनाको नमुना ‘स्वाब परीक्षण’का लागि काठमाडौँ पठाइएको समेत स्वास्थ्य शाखाले जनाएको छ।
