साँगा–धुलिखेल ८ किलोमिटर सडक खण्ड बिस्तारकाे ठेक्का म्याद सकिन लाग्दा कतै काम तीव्र गतिमा भइरहेको छ भने कतै काम राकिएको महिनाै भइसकेको छ ।
What you should know
काभ्रे — अरनिको राजमार्ग अर्न्तगत निर्माणाधीन साँगा–धुलिखेल सडक खण्ड बिस्तारको ठेक्का म्याद सकिन २५ दिन मात्रै बाँकी छँदा काम ६० प्रतिशत मात्रै भएको छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल ८ किलोमिटर खण्ड बिस्तारकाे ठेक्का म्याद सकिन लाग्दा कतै काम तीव्र गतिमा भइरहेको छ भने कतै काम राकिएको महिनाै भइसकेको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब १ किलोमिटर सडक कालोपत्र भएकाे छ । पुलबजार–जनागाल क्षेत्रमा अहिले कालेपत्र गर्ने काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।
पुलबजार–जनागाल, बाँसघारी–बुडोल, साँगा–भैंसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा अहिले काम तीव्र रुपमा भइरहेको आयोजनाका इन्जिनियर विष्णु खनालले जानकारी दिए । ‘पुलबजार–जनागाल क्षेत्रको काठमाडौंबाट बनेपातर्फ दायाँतर्फ लम्बाई ८ सय मिटर र चौडाई १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ,’ आयोजनाका इन्जिनियर विष्णु खनालले भने,‘बनेपाबाट काठमाडौंतर्फ बाँयातर्फ अहिले कालोपत्र गर्ने तयारी भइरहेको छ ।’
उनका अनुसार अहिले बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कट्टिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । त्यस्तै, बनेपाको चाँदनी चोकमा कर्ल्भट राख्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ्ग गर्ने काम भइरहेको छ । साँगा–भैंसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको उनले जानकारी दिए ।
राजमार्गको पहिलो खण्डको विभिन्न स्थानमा बिस्तारको काम तीव्र रुपमा भए पनि बनेपा–पुलबजार क्षेत्रमा करिब २ सय मिटर सडक खण्डको काममा भने स्थानीय अवरोध जनाएका छन् । उक्त क्षेत्रमा करिब १० महिनादेखि स्थानीयले सेन्टर लाइनको विवादलाई लिएर काम सञ्चालन गर्न नदिएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिए ।
उनका अनुसार निर्माणाधीन सडक खण्डको पुलबजार क्षेत्रमा सेन्टर लाइनको विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि करिब १० महिनादेखि त्यहाँ विस्तारको काम अघि बढाउन सकिएको छैन । ‘यस विषयमा नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन धेरै पटक छलफल भयो,’ उनले भने, ‘कुनै निष्कर्ष निस्किएको छैन, विवाद रहेको स्थानलाई छाडेर हामीले काम तीव्र बनाइरहेका छौं ।’
आयोजना प्रमुख विजयकुमार महतोका अनुसार हालसम्म सूर्यविनायक–धुलिखेल खण्डमा करिब ५० प्रतिशत काम भएको छ । साँगा–धुलिखेल खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा ४२ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।
उनका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका घर भत्काउन बाँकी रहेको छ । करिब ६ वटा घर भत्काउन बाँकी रहेकाले पनि त्यस खण्डमा केही अवरोध भएको उनले बताए । सडकको मापदण्डभित्र रहेका घर भत्काउनका लागि धनीहरुलाई अनुरोध गरिएको र चाँडैनै भत्काउने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।
उनका अनुसार पहिलो खण्ड साँगा–धुलिखेल ८ किलोमिटर सडक विस्तार कार्यका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्न ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्को लिएको थियो । २०७९ मंसिर २७ गते निर्माण व्यवसायीसँग सम्झौता भए अनुरुप ठेक्काको समय सकिन अब २५ दिन मात्रै बाँकी रहेको छ । २०८२ मंसिर २६ गते पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद सकिने उनले बताए ।
योजनाअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किलोमिटर बिस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको आयोजनाले जनाएको छ । उक्त खण्डको ठेक्का अवधि सकिन करिब डेढ महिना बाँकी रहेको छ । २०८२ पुस १८ गते उक्त खण्ड विस्तारको म्याद सकिने उनले जानकारी दिए ।
दुवै खण्डमा विस्तार गर्नको लागि ठेक्काको म्याद सकिन लागे पनि काम गर्नको लागि बजेटको अभाव भने नभएको उनले बताए । उनका अनुसार ठेक्काको म्याद थपेर आउँदो असारसम्म थपेर दुवै खण्डकाे काम सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको उनले बताए ।
