राप्तीको शिर-पुछार १६ ठाउँमा सफाइ

राप्ती नदी चितवन निकुञ्ज आड हुँदै बग्छ । राप्तीमा दुर्लभ घडियाल गोही लगायतका जीवजनावर वस्छन् । हिउँदयाममा साइबेरियादेखि चरा आहारा खोज्दै यहाँसम्म आउँछन् ।

मंसिर १, २०८२

रमेशकुमार पौडेल

Cleanup of 16 places along Rapti

What you should know

चितवन — राप्ती नदीको मुहान मकवानपुरको भैंसे नजिकदेखि पुछार विन्दु चितवन भरतपुर महानगरपालिका-२८ मेघौली गोलाघाटसम्म सोमबार सरसफाइ गरिएको छ ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले तीन वर्षदेखि मंसिर १ गते राप्ती नदी दिवस मनाउँदै आएको छ । सोही दिवसको सन्दर्भ पारेर बृहत् सरसफाइ कार्यक्रम राखेको अभियानका संयोजक अपिल घिमिरेले बताए ।

अभियानको आह्वानमा मकवानपुरका तीन ठाउँ र चितवनका १३ ठाउँमा सरकारी, गैरसरकारी र स्थानीय निकायका समूह नदी सफाइमा जुटेको घिमिरेले जानकारी दिए । 'हामी ११ वर्षदेखि अभियानमा छौं । तीन वर्ष पहिला नदी दिवस मनाउन सुरू गरेका हौं । यो अभियानमा हालसम्म स्वयमसेवी रूपमा २७ हजार जोडिए । हजारौं टन फोहर व्यवस्थापन गरेका छौं,' संयोजक घिमिरेले भने ।

राप्ती नदी चितवन निकुञ्ज आड हुँदै बग्छ । राप्तीमा दुर्लभ घडियाल गोही लगायतका जीवजनावर वस्छन् । हिउँदयाममा साइबेरियादेखि चरा आहारा खोज्दै यहाँसम्म आउँछन् । 'यस्तो नदीलाई प्रदूषणमुक्त राख्न हामी सामाजिक अभियानमा लागेका छौं । यो आज मात्र नभएर निरन्तर चल्ने अभियान हो,' घिमिरेले भने ।

तुलनात्मक रूपमा फोहर कम भए पनि प्लाष्टिक प्रशस्तै देखिने, स्थानीय तहले फ‍ोहोर मिल्काउने जस्ता समस्या हट्न नसकेको घिमिरेले गुनासो गरे । पटिहानीमा नदी सफा गर्न पुगेका बागमती प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व वनमन्त्री कृष्ण सिलवाल समक्ष घिमिरेले नदी नीति ल्याएर संरक्षण गर्न माग गरे ।

पूर्वमन्त्री सिलवालले नदी सभ्यताको संरक्षणको दायित्व सरकार समुदाय सबैले मिलेर पूरा गर्नुपर्ने बताए । भरतपुरमा रहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले नदी जोगाए मानव जीवन पनि जोगिने धारणा राखे । भरतपुर महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विसुराम कुँवरले महानगरले नदी प्रदूषण नियन्त्रणलाई केन्द्रमा राखेको तर सबैको तत्परताबिना लक्ष्य हासिल नहुने बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully